
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न दोषीलाई जोगाउन राज्य नै लागिपरेको आरोप लगाएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार संसद बैठकमा सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
'हामी कस्तो राज्य बनाउँदैछौं, दोषीलाई जोगाउन स्वयं राज्य लाग्दैछ,' देउवाले भने– 'न्याय माग्न कहाँ जाने? अपराधीलाई जोगाउन खोज्नु पनि अपराध हो ।'
निर्दोष व्यक्तिलाई दोषी करार गरिएको भन्दै देउवाले आपत्ति जनाए । 'निर्दोष नागरिकलाई दोषी करार गरिएको विषय अपराधको पराकाष्ठा नै हो,' देउवाले भने– 'म आग्रह गर्न चाहन्छु, यस विषयमा सरकारको ध्यानाकर्षण होस् ।'
पीडितका तर्फबाट न्याय माग्दा अर्को एक बालकले ज्यान गुमाउनुपरेको भन्दै देउवाले प्रहरी दमनको भर्त्सना गरे ।
साथै उनले नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको आरोप समेत लगाए ।
न्यायाधीश दीपकराज जोशीलाई प्रधानमन्त्री नेतृत्वको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नु र सुनुवाइ समितिले अस्वीकर गर्नु दोहोरो चरित्र भएको उनको टिप्पणी छ ।
बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित थिए ।
प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री बैठकमा उपस्थित हुने संसदीय परम्परा छ ।