लोकान्तर संवाददाता
काठमाडौं, ९ फागुन –सरकारले चालू आर्थिक वर्ष (आव) २०७३/७४ मा बजेट खर्च नहुने परिपाटीलाई न्यूनिकरण गर्ने घोषणा गरेपनि अधिकांश मन्त्रालयको स्थिति दयनीय देखिएको छ । चालू आवको मध्यावधिसम्म आइपुग्दा अधिकांश मन्त्रालयको बजेट खर्च निराशाजनक देखिएको हो ।

अर्थ मन्त्रालयले सोमवार सार्वजनिक गरेको चालू आवको मध्यावधि समीक्षामा केही मन्त्रालयबाहेक धेरैको खर्च स्थिति न्यून देखिएको छ ।
मन्त्रालयका अनुसार चालू आवमा सबैभन्दा धेरै बजेट खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय अघि छ । पुससम्ममा स्वास्थ्य मन्त्रालयले कुल विनियोजित बजेटको २० दशमलव ६० प्रतिशत खर्च गरेको छ ।
सोही अवधिमा सिंचाइ मन्त्रालयले कुल विनियोजित बजेटको १९ दशमलव ०८ प्रतिशत र भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै, पुससम्ममा शहरी मन्त्रालयको बजेट खर्च ८ दशमलव ५६ प्रतिशत छ । अन्य मन्त्रालयको बजेट खर्च भने निराशाजनक रहेको अर्थ मन्त्रालयले बताएको छ ।