
विराटनगर – प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरलाई स्थायी राजधानी बनाउन प्रयास भइरहेको छ । तर, त्यही विराटनगरमा दिनदिनै असुरक्षा र अपराधका घटना बढिरहेका छन् ।
प्रहरीका अनुसार १ महिनाको अवधिमा आधा दर्जन बढी घटना भएको प्रहरी तथ्यांकमा देखिएको छ । एकपछि अर्को घटना हुँदै जानुले सर्वसाधारणको जनजीवन त्रसित बन्दै गएको छ । प्रहरी अधिकारी परिवर्तन हुने बित्तिकै आपराधिक गतिविधि बढ्ने गरेको विभिन्न घटनाक्रमले देखाउने गरेको छ ।
विराटनगरमा व्यक्ति हत्या गर्नेदेखि सरकारी कार्यालयमा बम पड्काउने, पत्नी र छोरीलाई खुकुरी हान्नेजस्ता जघन्य अपराधका घटनाले आमनागरिकमा सुरक्षा संवेदनशीलताबारे गम्भीर प्रश्न खडा गरेको छ । विराटनगरमा १ महिनाको अवधिमा भएका आपराधिक घटना यस्ता छन् :
घटना १
विराटनगर–४ मा रहेको नोबेल मेडिकल कलेजमा अध्ययनरत १ विद्यार्थीको रहश्यमय तरिकाले मृत्यु भयो । नोबेल मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययनरत २५ वर्षीय सौरभ उप्रेतीको मृत्युको रहश्य अझै बाहिर आउन सकेको छैन ।
साउन १६ गते सौरभको मुत्यु भएको लगभग १ महिना पुग्न लागिसकेको छ । तर, अझै हत्या हो वा आत्महत्या भन्ने यकिन हुन सकेको छैन । अन्तिम वर्षको परीक्षा दिइरहेका विद्यार्थी उप्रेती सुतेकै कोठामा खाटमुनि मृत फेला परेका थिए । सौरभ राति अबेरसम्म साथीसँगै पढेर सुतेका थिए ।
उनको घाँटी र शरीरमा चोट देखिएको थियो । मोरङ प्रहरीले सौरभको मृत्युको रहश्य पत्ता लगाउन उच्चस्तरीय टोलीबाट सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ । महिनादिन पुगिसक्दा पनि सौरभको मृत्युको कारण पत्ता नलाग्दा घटना अझै रहश्यमय बनिरहेको छ ।
घटना २
नोबेल मेडिकलमा भएको घटना सेलाउन नपाउँदै २ दिनपछि विराटनगरमा पुनः अर्को घटना बाहिर आयो । विराटनगर–१४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्भर्टमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटियो । ती युवतीको शव नग्न अवस्थाको थियो ।
साउन १८ गते तराई मूलको जस्तो देखिने ती युवतीको शवको हालसम्म सनाखत हुन सकेको छैन । शव नाङ्गो अवस्थामा भेटिएकोले बलात्कार गरी फालिएको हुनसक्ने आशंका गरिएको छ । तर, घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
घटना ३
साउन २७ गते विराटनगर महानगरपालिकाभित्र बम विष्फोट भयो । सरकारी कार्यालय हाताभित्र मेयरको कार्यकक्षलाई लक्षित गरी भएको बिस्फोटबारे सबै अचम्ममा छन् । बम कसले र किन बिस्फोट गरायो ? त्यसको कारण अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । बम पड्काउने कोही पनि पक्राउ पर्न सकेका छैनन ।
बम विष्फोटमा संलग्न भएको आशंकामा केही मानिस पक्राउ गरिएको भएपनि उनीहरू अनुसन्धानपछि छाडिएका छन् । महानगरपालिकाका ८ वटा सीसी क्यामेराबाट संकलित फुटेजमा कुनै रेकर्ड नै नभेटिएको प्रहरी बताउँछ । तर, अझै केही हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
सीसीटीभीको रेकर्ड नभेट्दा मोरङ प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भएको अनुसन्धान अधिकृत बताउँछन् । मध्य दिउँसो मेयरको ढोका अगाडि कार्यालयमा बम विष्फोट हुनु र महानगरको सीसीटीभीमा त्यसको रेकर्ड नहुनुले महानगर भित्रैबाट कसैको मिलेमतो भएको हो कि भन्ने आशंका बजारमा चर्चाको विषय बनेका छन् ।
प्रहरीले त्यसबारे पनि अनुसन्धान भइरहेको जनाएको छ । बम बिस्फोट सम्बन्धी प्रगति प्रहरीले बताउन नचाहेपनि घटना गराउने व्यक्तिको पहिचानको नजिकै पुगेको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए ।
घटना ४
महानगरको बम विस्फोटको ५ दिन नबित्दै अर्को गम्भीर अपराधिक घटना भयो । भदौ १ गते प्रेमीले प्रेमिकाको छुरा रोपेर हत्या गरे । विराटनगर–१३ की २२ वर्षीया शिखा घिमिरेलाई उनकै प्रेमीले दाउ प्रहार गरी हत्या गरे । विराटनगर–१३ कै ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका शिखा घिमिरेको भदौ १ गते घुमाउन लैजाने भन्दै हत्या गरेका हुन् ।
घुम्न गएको मौकामा एकान्तमा पुर्याइ ग्रामथान गाउँपालिका–३ सिद्राहामा हत्या भएको हो । घटनामा पनि प्रहरीको सक्रियताभन्दा पनि स्थानीयको सक्रियतामा हत्यारा पक्राउ पर्न सफल भएपछि स्थानीयले प्रहरीलाई बुझाए । पक्राउ गरिएका भट्टराईले किन प्रेमिकाको हत्या गरे भन्ने विषयमा प्रहरीले केही भनेको छैन । तर, अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना ५
मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा रहेको श्री माध्यमिक बिद्यालयको पानी ट्यांकीमा हालिएको विषको कारण २९ जना विद्यार्थी बिरामी परे । विद्यालयमा गएका बालबालिकाले खाएको पानीमा विष भएको पाइएपछि विद्यालय बन्द त भयो । तर, २९ जना विद्यार्थी बिरामी परेपछि त्यसरी विष हाल्ने व्यक्तिको प्रहरीले पहिचान गर्न सकेको छैन ।
झण्डै ५ सय जना विद्यार्थीलाई लक्षित गरी पानीको मुहानमा नै विष कसले हाल्यो भन्ने अत्तोपत्तो छैन । श्री माविको पानीको सुरक्षाको व्यवस्थापनको लागि विद्यालयले च्यानल गेटको भित्रिभागको माथिल्लो तलामा पानीको ट्यांकी राखेको छ । त्यहाँ जो कोही पुग्न सक्ने अवस्था पनि छैन ।
विद्यालय लागेको समयमा त्यही विद्यालयमा आएका विद्यार्थी तथा शिक्षकले त्यो च्यानल गेटको प्रयोग गर्ने भएपनि बाहिरी मान्छेले त्यो ट्यांकीको बारेमा जानकारी नै राख्दैनन् । तर, त्यसरी राखिएको ट्यांकी सुरक्षामा विद्यालयले चासो नदेखाएको हो त ? भनी विद्यालयका प्रधानाध्यापक खेमराज दुलाललाई सोध्दा उनले सुरक्षाको लागि ताल्चा नै नलगाएको भएपनि ट्यांकीको केही भाग खुल्ला रहेको स्वीकार गरे । तर, यसरी भएको घटनाको बारेमा प्रहरीले यतिका दिनसम्म कसैलाई पक्राउ गर्न नसक्नु पनि प्रहरीले घटनालाई कसरी लिएको छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।
घटना ६
शिखाको हत्या भएको २ दिनपछि १ सुरक्षा गार्डको फलामको रड प्रहार गरी हत्या भयो । विराटनगर–२ न्यू विक्की हार्डवेयर पसलमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका विराटनगर–४ का ५१ वर्षीया टंक भट्टराईको अज्ञात समूहबाट हत्या भएको थियो ।
टंक भट्टराईका अभियुक्त भने हत्या भएको ८ दिनपछि मात्र प्रहरीले पक्राउ गर्न सफल भएको छ । सुरक्षा गार्डको विभत्स तरिकाले हत्या गर्ने विराटनगर–४ जामुनगाछीका २६ वर्षीय सञ्जय सहनीलाई प्रहरीले पक्राउ गरेर एउटा सफलता हात पारेको छ ।
घटना ७
सुरक्षागार्डको हत्या भएको २ दिनपछि फेरि अर्को घटना भयो पत्नी, छोरी र सालोमाथि खुकुरी प्रहारको । विराटनगर–११ मा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइयो । विराटनगर–११ पिचडाकी ४० वर्षीय पुनम सहनी, उनकी छोरी २० वर्षीया मनिता सहनी र पुनमका भाइ २७ वर्षीय सन्दीप सहनी घाइते भए ।
केही समयअघि भागी विवाह गरेका सिराहा गोलबजार निवासी ४५ वर्षीय पति दिलीप सहनीले भदौ ५ गते बिहान उनीहरूमाथि दाउ प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । विराटनगर पिचरास्थित घरमै बसिरहेको अवस्थामा तीनै जनामाथि दाउ प्रहार भएको थियो ।
विराटनगरमा पछिल्लो पटक भएका आपराधिक घटना बढिरहेको तथ्यांकले सुरक्षाको अवस्थाको बारेमा प्रहरीले अब नयाँ रणनीति बनाउनुपर्ने देखिएको छ । विराटनगरमा अपराध र हत्या हिंसाका घटनाले प्रहरी संवेदनशील हुने मात्र हैन, आम नागरिक पनि संवेदनशील हुनुपर्ने देखिएको छ ।
मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले सामाजिक अपराध र भैपरी आउने अपराध चुनौती बनिरहेको बताए । प्रत्येक घटनाको छानबिनबाट यस्ता घटना हुन नदिन मोरङ प्रहरीले सक्षम अनुसन्धान गरिरहेको प्रहरी प्रमुख केसीले जानकारी दिए । तर, अनुसन्धानको नाममा व्यक्ति पक्राउ पर्न नसक्नुले घटनापछि प्रहरीको भूमिका थप सुस्त देखिएको आम नागरिकको बुझाइ छ ।