१३ असार २०८३, शनिबार

मुख्य समाचार : बिमस्टेक आजबाट-एजेण्डा र समझदारीपत्र तयार, बीस वर्षपछि एसियाडमा ‘रजत’

मुख्य समाचार : बिमस्टेक आजबाट-एजेण्डा र समझदारीपत्र तयार, बीस वर्षपछि एसियाडमा ‘रजत’

काडमाडौं–बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको बिषयलाई आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । चौथो सम्मेलन बिहीबारबाट शुरु हुँदै छ । 

बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।

सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् । सम्मेलनपूर्व बुधबार बसेको परराष्ट्रमन्त्रीस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डालाई अन्तिम रूप दिएको छ ।, नयाँ पत्रिकामा खबर छ ।
 
अन्नपूर्ण पोस्टका अनुसार क्षेत्रीय केन्द्र स्थापना गर्ने सहमति, बिम्स्टेक ऊर्जा ग्रिड अनुमोदन, अघि बढाइँदै मोटरभेहिकल सम्झौता, बडापत्रको विज्ञ समूह तयार गर्ने सहमति, आतंकवाद र मानव बेचविखनविरुद्ध सहकार्य गर्ने लगायतका छन् । शिखर सम्मेलनको घोषणापत्र बुधबार बसेको विदेश मन्त्रीस्तरीय बैठकले तय गरेको छ । घोषणपत्रसँगै बिमस्टेक ऊर्जा ग्रिड निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने विषय अनुमोदन भएको छ । आतंकवाद, मानव बेचबिखन र अन्तरदेशीय अपराध नियन्त्रणको पछिल्लो व्यवस्थापनबारे सहकार्य गर्ने पनि सहमति भएको छ ।

बैठकले मोटरभेहिकल सम्झौता गर्ने सहमतिबारे प्रस्ताव अघि बढाएको छ । यसको सम्झौता र आधारबारे शिखर सम्मेलनले तय गर्नेछ । यसबाहेक विभिन्न क्षेत्र कोस्टल सिपिङ समझदारी, भन्सार र स्वतन्त्र व्यापार क्षेत्र कार्यावन्यनको पक्षमा समेत छलफल भएर यसको सहकार्य शिखर सम्मेलनमा निधो गर्ने टुंगो भएको छ ।

क्षेत्रीय समृद्धि र विकासका लागि सदस्य मुलुकबीच सहकार्य र साझेदारी नै अहिलेको अपरिहार्यता हो । आपसी समस्या ‘विनविन’ अवस्थामा अडेर समाधान गर्नपर्ने सुझाव समेत एक अर्कालाई दिइएको छ ।
बिमस्टेकको अधिकांश विषय विदेश मन्त्रीस्तरीय बैठकले तय गरेको हो । बिमस्टेकमा व्यापार तथा पारवहनलाई नै जोड दिइएको छ । दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवेजस्ता क्षेत्रमा गरिने सहकार्य विकासको अर्थपूर्ण ऐक्यबद्धता भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा सम्बोधन गर्दै बताए । 
सम्मेलनमा सुरक्षा र प्राकृतिक प्रकोपमा नयाँ रणनीति र ‘बेस्ट प्राक्टिस’ आदानप्रदानमा छलफल हुनेछ ।

राष्ट्रियसभा समितिका सभापति निर्विरोध
राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा बुधबार बसेको बैठकमा सभापतिहरूको निर्विरोध चयन भएको हो । सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित भएका छन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ । 

सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
     
सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीको पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सरकारले शङ्काको भरमा बाजेको सेकुवा शाखामा तालाबन्दी हुँदा सो निर्णय खारेज गर्न आदेशमा माग गरिएको थियो ।

पश्चिम सेती जलविद्युत् आयोजना : द्विपक्षीय वार्ता निष्कर्षविहीन
पश्चिम सेती जलविद्युत् आयोजना प्रभावित क्षेत्रको पुनर्वास तथा पुनःस्थापना लगायतका विषयमा थप छलफल गर्नुपर्ने भएपछि नेपाली अधिकारी र चिनियाँ थ्री गर्जेजको उच्च प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ । मङ्गलबार र बुधबार भएको द्विपक्षीय वार्तामा प्रभावित क्षेत्रको निजी तथा सरकारी जग्गाप्राप्तिको विषय जटिल रहेको भन्दै चिनियाँ पक्षले सो विषयमा नेपाल सरकारको प्रष्ट धारणा माग गरेको थियो । 

नेपाली पक्षले सो विषयलाई वार्ता र समन्वयका आधारमा टुङ्ग्याउन सकिने प्रतिबद्धता जनाएको थियो । क्षमता घटाउने विषयमा समेत करीब करीब सहमति भएको थियो । कूल ७५० मेगावाट क्षमताको सो आयोजनाको क्षमता घटाएर ६०० मेगावाटसम्म झार्न सकिनेमा समेत सहमति भएको थियो । वार्तामा सो आयोजनाको विद्युत् अमेरिकी डलरमा खरिद गर्ने विषयमा सहमति भएको थियो । तर चिनियाँ पक्षले थप छलफल जरुरी रहेको भन्दै तत्काल आयोजना निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय दिन सकेन । 

गण्डकी प्रदेश पूर्ण खोप घोषित
गण्डकी प्रदेशलाई ‘पूर्ण खोप सुनिश्चित गण्डकी प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहका १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकामा खोप सुनिश्चिता गरे । 

राष्ट्रिय खोप तालिकाबमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेकाले बुधबार गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । आगामी दिनमा कुनै पनि अवस्थामा कुनै पनि बालबालिका खोप लिनबाट वञ्चित हुने छैन भनी प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । दुई चरणमा १६ देखि २३ महिनाका ३५ हजार ८४२ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता पाएपछि पूर्ण खोप प्रदेशका रूपमा घोषणा गरिएको हो ।

दुव्र्यवहारको आरोपमा प्रिन्सिपल पक्राउ
विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–११ नहरपुरको ज्ञानपुञ्ज सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई प्रहरी नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिए ।

“घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, उनले भने । प्रहरी निरीक्षक थापाले दुवै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिए । 

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो । 

सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । सो कार्यालयले मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम सम्पन्न भएको पाइएको थियो । सडक विस्तार आयोजना बानेश्वरको जिम्मेवारीमा रहेको उक्त सडक खण्डका केही ठूला खाल्डाखुल्डी पुरिएको भएतापनि अझै सडकमा स–साना खाल्डाखुल्डी देखिएको छ ।

बीस वर्षपछि एशियाडमा रजत पदक
एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले बुधबार रजत हात पारेको हो ।

पहिलो पटक एशियाली खेलकूद (एशियाड)मा सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएसँगै एशियाडमा नेपालको यो दोस्रो उच्च उपाधी हो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । 

नेपालले कूल १६ संस्करण खेल्दासम्म एशियाडमा स्वर्ण पदक भने जित्न सकेका छैन । विमल अधिकारीले नेतृत्व गरेको नेपाली प्याराग्लाइडिङ टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् । क्रस कन्ट्री इभेन्ट इण्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो ।

नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अङ्कले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कूल ११ हजार ३६४ अङ्क ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अङ्क प्राप्त गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्