काठमाडौँ, ९ फागुन - राप्रपाको केन्द्रीय सदस्यका लागि मङ्गलबार निर्वाचन गरिने भएको छ । पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पद) का लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुल्ला १६ तथा आरक्षणमा १७ छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुसलमान एक, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु समुदायबाट एक जना निर्वाचित हुनेछन् ।
पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, जसमा खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी सात, आदिवासी÷जनजाति नौ, उत्पीडित दुई, मुसलमान दुई, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु एक र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् । महाधिवेशनपछि ४० प्रतिशत मनोनयन गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ ।