
राजविराज-कोसीको बाढी अचानक बस्तीमा छिरेपछि हनुमाननगर कंकालिनी नगरपालिका– १२ की तीन दिनकी सुत्केरी सहनाज खातुनको फुसको घर जोखिममा छ । २३ वर्षीया खातुनलाई १ फिटसम्म पानी जमेको घरभित्र नवजात शिशुसँगै घरमै अग्लो स्थानमा खाट राखी सुरक्षा दिने कोसिस गरिएको छ ।
सुत्केरी बस्ने ठाउँमा विषालु धामन सर्प आउन थालेपछि रातभर जाग्राम बस्ने गरेको उनका पति महोम्मद साहिलले बताए । ‘बाढीसँगै सर्पहरु पनि बगेर आउँछन् ज्यान जोगाउन मुस्किल छ,’ उनल भने, ‘सुत्केरी जोगाउनका लागि रातदिन लठ्ठी लिएर सर्पको पहरा गर्छु ।’
पहिलो छोरा र पत्नीलाई स्वस्थ र सुरक्षित राख्न समस्या छ उनलाई । आर्थिक अवस्था कमजोर छ । उनले थपे, ‘गरिबलाई दशा लाग्यो ।’ बुधबार बिहानसम्म उनले दुईवटा सर्प मारेका छन् । नजिकै कोही आफन्त नभएका उनी सुत्केरी पत्नीलाई सुरक्षित स्थानमा राख्न असक्षम छन् ।
बाढीप्रभावित ती बस्तीमा बहुसंख्यक विपन्न र दलित समुदायको बसोबास छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।