
जनकपुरधाम – महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी दुधे बालिका सोनालिका चौधरीको अपहरणपछि हत्या गर्नेलाई प्रहरीले हालसम्म पक्राउ गर्न नसकेपछि स्थानीय आन्दोलित भएका छन् ।
औरही नगरपालिका–१ स्थित औरही बजारमा किराना पसल चलाउँदै आएका चौधरीकी ८ महिने छोरी सोनालिकाको गत आइतवार अपहरणपछि हत्या भएको थियो । गत आइतवार साँझ चौधरीकी ८ महिने छोरीलाई पसलमा आमासँगै रहेको बेला भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा अपहरण गरी लगेका थिए । १ दिनपछि सोमवार बालिकाको शव औरही गाउँभन्दा पूर्व खेतमा भेटिएको थियो ।
बालिकालाई बलात्कार गरी हत्या गरिएको शवको प्रकृतिले देखिएपनि बलात्कार नै गरेर हत्या भएको हो भन्नेबारे शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन बताउन सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
बालिकाको अपहरण भएको खबर स्थानीय प्रहरीले पाउँदा पनि बालिकालाई अपहरणकारीको चंगुलबाट सकुशल किन उद्दार गर्न सकिएन भन्ने प्रश्नमा एसपी कार्कीले लोकान्तरसँग भने, ‘बालिका अपहरण भएको सूचना पाएलगत्तै राति १० बजेदेखि नै अपराधीलाई खोजतलास गर्न विभिन्न अप्रेसन चलायौं, तर घनाजंगल, उखुको घारी, धानखेती, खोलासहित खुल्ला क्षेत्र भएका कारण अपहरित बालिकालाई जोगाउन सकिएन ।’
पसलको सामुन्नेबाट अपहरणकारीले बालिकालाई अपहरण गरेर लागेका थिए, त्यसको सीसीटीभी क्यामेराको फूटेज त्यही पसलबाट उपलब्ध भएपछि अभियुक्तको पहिचान समेत भइसक्दा पनि महोत्तरी प्रहरीले हालसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । बालिकाको हत्या नै किन गरियो भन्ने विषय अभियुक्त पक्राउ परेपछि मात्र खुल्न सक्ने एसपी कार्कीले लोकान्तरलाई बताए ।
आमासँगै बसेर बालिकालाई खेलाउँदै गरेको अवस्थामा लगेको सीसीटीभी क्यामेराको फूटेजबाट प्रष्ट देखिएको एसपी कार्कीले बताए । अपहरणकारीले फिरौतीको लागि अपहरण गरेको थियो वा अन्य उद्देश्यका लागि त्यो प्रष्ट हुन सकेको छैन । तर, बालिकालाई बलात्कार गरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
फरार रहेका अभियुक्तलाई पक्राउ गर्न घटना भएकै दिन भदौ १० गते राति १० बजेदेखि नै सम्पूर्ण प्रहरी जनशक्ति परिचालन गरिएको एसपी कार्कीले बताए । उनका अनुसार महोत्तरी जिल्लाको सम्पूर्ण प्रहरी जनशक्तिका अतिरिक्त थप जनशक्ति मगाएर खोजतलासलाई तीब्रता दिइएको छ ।

‘महोत्तरी जिल्लाको नजिकका थप जिल्ला, सीमावर्ती भारतीय क्षेत्रका अन्तर्राष्ट्रिय बोर्डर क्षेत्रका गाउँका साथसाथै प्रतिवादी लुकेर बस्न सक्ने सम्भावित हरेक स्थानमा सर्च अप्रेसन जारी मात्र होइन, तीब्र बनाएका छौं, जुनसुकै बेला पनि उनी पक्राउ पर्ने छन् ।’ स्थानीयको सहयोग लिएर प्रहरीले खोजतलास जारी राखेको उनले बताए ।
हालसम्मको अनुसन्धानबाट अभियुक्त र मृतक बालिकाकी आमासँग खासै चिनजान रहेको भन्ने कुरा नदेखिएको एसपी कार्कीले बताए । एकातर्फ प्रहरीले अपराधीलाई पक्राउ गर्न खोज कार्य जारी राखेको बताइरहँदा स्थानीय थप आक्रोशित बन्दै गएका छन् । घटना भएको ५ दिन भइसक्दा पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बर्दिबास–जलेश्वर सडकमा सवारी आवागमन अवरुद्ध पारी आन्दोलन गरेका छन् ।
अपहरणकारी र हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । घटनाको विरोधमा स्थानीयले औरही बजारसमेत बन्द गरेका छन् । बजार, पसल, शिक्षण संस्थासमेत बन्द भएका छन् ।
बन्दका कारण बर्दिबास–जलेश्वर औरही सडक अवरुद्ध भएको छ । स्थानीयले सडकमा टायर बाली प्रदर्शन गरिरहेका छन् । तत्काल दोषी पत्ता लगाइ कारबाही र पीडितलाई उचित क्षतिपूर्ति, हत्यारालाई पक्राउ र छानबिन समिति गठन गर्नुपर्नेजस्ता माग राखी स्थानीयले बजार बन्द गराएका हुन् । औरहीका व्यापारी, बुद्धिजीवि, विद्यार्थी, समाजसेवी एवं सर्वसाधारण, नागरिक समाज, सयौं सर्वसाधारण आन्दोलनमा सहभागी छन् ।
आन्दोलनकारीले बालिका बलात्कारी एवं हत्यारालाई पक्राउ नगरेसम्म संघर्षका कार्यक्रम यथावत् राख्ने चेतावनीसमेत दिएका छन् । चक्काजामका कारण जलेश्वर–बर्दिबास सडकखण्डको औरही बजारको दुवैतिर सयौं बस, ट्रक, जीप, कार, मोटरसाइकल अलपत्र परेका छन् भने हजारौ यात्रु अलपत्र परेका छन् ।
एसपी कार्कीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक नकुल पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादर खड्का र ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टको कमाण्डमा १ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । ‘हामी अपराधीलाई पक्राउ गरेर कारबाही गर्न प्रतिवद्ध छौं । तर, यसरी बन्द, हड्तालमा स्थानीय उत्रिएपछि अपराधीलाई नियन्त्रणमा लिन अप्ठ्यारो हुन्छ,’ उनले भने, ‘यसका लागि हामीले सादा पोशाकका प्रहरीसमेत नेपाल–भारत सीमा तथा छिमेकी जिल्लामा खटाइसकेका छौं ।’