
काठमाडौं — द वाशिङटन पोस्टमा बुधवार सीआईएका पूर्व कार्यकारी निर्देशक माइकल मोरेलले लेखेको एक लेखअनुसार, अमेरिकी सरकारले आतंकवादी संगठन अल कायदाका प्रमुख बम निर्माता इब्राहिम हसन अल–असिरीलाई गत वर्षको ड्रोन आक्रमणमा मारेको छ । सरकारी अधिकारीहरू असिरी मारिएको कुरामा ढुक्क छन् ।
त्यसो त असिरी मारिएको खबर पहिले पनि आउने गरेको छ तर उनी जिउँदै भेटिने गरेका पनि हुन् । तर अहिले चाहिँ उनी साँच्चिकै मारिएका हुन् भने ओसामा बिन लादेनपछिका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय आतंकवादी समाप्त भएका हुन् ।
असिरी साउदी अरबमा जन्मेका थिए र यमनमा कैयौं वर्षदेखि अल कायदाका लागि नेतृत्वदायी भूमिकामा काम गरिरहेका थिए । सुरक्षा चेकप्वाइन्टलाई छल्न सक्ने विस्फोटक पदार्थ बनाउनुमा उनकै दिमाग रहेको बताइएको छ ।
उनी आफ्नो काममा दक्ष रहेको अनि बुद्धिमान् र खतरनाक रहेको बताइएको छ ।
असिरीले लामो समयदेखि विस्फोटक पदार्थ बनाउने गरेका थिए । सन् २००९ मा उनले आफ्नो भाइ अब्दुल्लाहलाई नितम्बभित्र बम लुकाउन लगाएर साउदी अरबका राजकुमार मोहम्मद बिन नायेफको हत्या गर्न लगाएका थिए ।
अब्दुल्ला आफू आतंक छोडेर प्रायश्चित्त गरेको बहाना बनाउँदै नायेफनजिक पुगेका थिए र विस्फोट गराएका थिए । अब्दुल्ला मारिए तर राजकुमारलाई चाहिँ चमत्कारी रूपमा हल्का चोटपटक मात्र लाग्यो ।
असिरीले सन् २००९ मा क्रिसमसको दिनमा नाइजेरियाका उमर फारुक अब्दुलमुतल्लबलाई कट्टुभित्र बम लुकाएर अमेरिकी विमानमा पड्काउन लगाएका थिए । विमान आम्सटर्ड्यामबाट डेट्रोइट जाँदै थियो । अब्दुलमुतल्लबले
राम्ररी बम पड्काउन नजानेपछि विमानमा रहको २९० यात्रुको ज्यान जोगिएको थियो ।
पछि सन् २०१० मा असिरीले प्रिन्टरको कार्ट्रिजमा बम लुकाएर मालवाहक विमानहरूलाई पड्काउने योजना बनाएका थिए । ती बमहरू एयरपोर्टका परम्परागत स्क्यानरहरूले पत्ता लगाउन सक्दैनथिए र कुकुरले पनि सुँघ्न सक्दैनथियो
। तर गोप्य सूचनाका आधारमा बम पत्ता लागेका कैयौं निर्दोषको ज्यान जोगियो ।
हालसालै मात्र उनले विद्युतीय उपकरणमा बम लुकाउन मिल्ने प्रविधि विकास गरेका थिए । त्यसैले गर्दा अहिले यात्रुहरूले विमानस्थलको सुरक्षा संयन्त्रबाट जाँदा ल्यापटप र आईप्याड हटाउनुपर्ने भएको छ ।
यस्तो खतरनाक आतंकवादीलाई मारेर ट्रम्प प्रशासनले प्रशंसनीय काम गरेको छ ।