१५ असार २०८३, सोमबार

बिमस्टेक सम्मेलनका २३ तस्बिर हेर्नुहोस्

बिमस्टेक सम्मेलनका २३ तस्बिर हेर्नुहोस्

काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 

सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले बिमस्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्स्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी भएका छन् ।  शिखर सम्मेलनमा म्यान्माका राष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आआफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । 

त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ । 

सम्मेलनकाे उद्घाटन सत्रमा कायममुकायम प्रधानन्याधीश, सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्स्टेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित थिए । 

काठमाडौँ घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ । 

स्थापनाको दुई दशकपछि नेपालले पहिलोपटक बिम्स्टेकको शिखर सम्मेलन आयोजनाको अवसर पाएको हाे । 

सन् १९९८ देखि नेपाल यसको आमन्त्रित र सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा भएको छैटौँ मन्त्रिस्तरीय बैठकबाट नेपाल र भूटान पूर्ण सदस्य भएका थिए । अध्यक्षीय कार्यकाल हरेक दुई वर्ष हुने गर्छ । 

सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा बिम्स्टेकको नामबाट बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड सदस्य राष्ट्रबीच यो क्षेत्रीय सञ्जाल गठन भएको थियो । सन् १९९७ डिसेम्बर २२ को मन्त्रिस्तरीय बैठकबाट म्यान्मा यसको सदस्य भएको थियो । सन् १९९७ जुन ६ मा थाइल्याण्डको बैंककमा भएको प्रथम शिखर सम्मेलनबाट बिम्स्टेकको नामकरणलाई अनुमोदन गरेको थियो । यसको स्थायी सचिवालय बङ्गलदेशको राजधानी ढाकामा छ । 

बिम्स्टेकका मुख्य १४ उद्देश्य र कार्यसूचीमा वाणिज्य, लगानी, प्रविधि, पर्यटन, मानवीय स्रोत विकास, कृषि, मत्स्यपालन, यातायात र सञ्चार, कपडा र छालाजन्य उद्योग आदि छन् । यसले शिक्षा, प्राविधिक व्यावसायिक क्षेत्रमा तालीमकाका साथै आर्थिक, सामाजिक प्राविधिक र वैज्ञानिक क्षेत्र र साझा स्वार्थका विषयमा सहकार्य गर्नेछ । 

बिम्स्टेक मुलुकमा करीब एक अरब ६० करोड जनसङ्ख्या छन् विश्व भू–भागको २२ प्रतिशत हिस्सा यसले ओगट्छ । यस क्षेत्रको सरदर आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत छ । 

यसले दक्षिण र दक्षिण पूर्वी मुलुकबीच पुलको काम गर्नेछ । यो सार्क र आसियान जस्ता क्षेत्रीय संयन्त्रका लागि पनि अन्तर्राष्ट्रिय सहकार्य मानिन्छ । 

तस्बिर साैजन्य  : सूचना विभाग

salt training

कमेन्ट गर्नुहोस्