२२ जेठ २०८३, शुक्रबार

बलात्कार रोक्न प्रदेशलाई ‘बिहारजस्तै मदिरामुक्त’ बनाउन सांसदको माग

भदौ १५, २०७५
बलात्कार रोक्न प्रदेशलाई ‘बिहारजस्तै मदिरामुक्त’ बनाउन सांसदको माग

जनकपुरधाम – दिनदिनै बलात्कारका घटना बढिरहेका कारण बलात्कार न्यूनीकरणका लागि मदिराको बिक्रीवितरणमा प्रतिबन्ध लगाउन २ नम्बर प्रदेशका सांसदले माग गरेका छन् ।

प्रदेश सभामा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रमिलादेवी दासले महोत्तरीको औरही घटनाबारे प्रदेश सरकारले छानबिन गरेर सत्यतथ्य सदनलाई जानकारी गराउनुपर्ने माग गरेकी छन् । ‘चेली सडकमा हिँड्दा पनि जिस्काउने गरिन्छ, बिहे गरेर घरमा जाँदा घरेलु हिंसा हुन्छ, दाइजोका लागि यातना दिइन्छ, बोक्सीको आरोप लगाइन्छ, महिला असुरक्षित छन्,’ उनले भनिन् ।

गाउँदेखि शहरसम्म अवैध खुला मदिरा पसल सञ्चालित रहेकाले हिंसाका घटना बढेको बताउँदै भारतको बिहारजस्तै २ नम्बर प्रदेशमा पनि मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाइनुपर्ने सांसद दासले बताइन् ।

बैठकमा नेकपाकी सांसद रुबीकुमारी कर्णले बलात्कारीलाई नपुंशक बनाएर आजीवन जन्मकैदको सजाय दिने कानून बनाउन प्रदेश सरकारसँग माग गरिन् । बलात्कारका घटना धेरै बढिरहेको अवस्थामा कारण खोजेर निदानको उपाय समेत खोज्नुपर्ने बताउँदै सांसद कर्णले भनिन्, ‘हिजो केही माननीय सांसद ज्यूले बलात्कारीलाई फाँसीको सजाय दिने कानून बनाउन माग गर्नुभएको थियो । तर, त्योसँग म सहमत छैन । बलात्कारीलाई नपुंशक नै बनाएर आजीवन काराबास दिने कानून बनाउनुपर्छ ।’

कांग्रेसकी सांसद शोभा लामाले बलात्कारीको यौनाङ्ग काटेर गाउँ समाजमा घुमाएपछि जेल पठाउनुपर्ने कानून बनाउन आवश्यक रहेको बताइन् । ‘मुख्यमन्त्री लालबाबु राउत ज्यूले बेटी पढाऊ बेटी बचाऊ अभियान विधिवत् रूपमा एक कार्यक्रम गरी सञ्चालन गर्नुभएको छ । तर, अहिले बेटीलाई पढाउनुभन्दा पनि पहिले सुरक्षा आवश्यक छ,’ उनले भनिन् ।

राजपा नेपालकी सांसद सुरिता साहले औरहीमा भएको घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन् । महोत्तरी जिल्लामा लागूऔषधको सेवन गर्ने, नसाको सुइँ लिने, ट्याब्लेट खाने क्रम धेरै बढेकाले बलात्कारका घटना बढिरहेको भन्दै महोत्तरीकी सांसद साहले भनिन्, ‘प्रदेश सरकारले प्रदेशमा लागूऔषधको कामलाई पूर्णतः नियन्त्रित गरिनुपर्ने आवश्यकता छ ।’

राजपा नेपालका सांसद मनिष सुमनले प्रदेशमा भइरहेका बलात्कारका घटना हेर्दा आफूलाई मानव भनाउँदा पनि लाज लागिरहेको बताए । ‘छोरीहरू बलात्कृत हुनु अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था रहेकाले बलात्कारीलाई फाँसीको सजाय दिँदा पनि कमै हुन्छ,’ उनले भने, ‘आफू पनि छोरीको पिता रहेकाले छोरीको पिता हुनुमा आफूलाई गर्व समेत छ ।’

औरही बालिका अपहरण र हत्याबारे सरकारको जवाफ 

महोत्तरीको औरही नगरपालिकामा ७ महिने बालिकालाई अपहरण, बलात्कार र हत्या गरिएको सवालमा सांसदले प्रश्न उठाएपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सदनमा जवाफ दिएका छन् ।

‘औरहीमा ९ महिने बालिकाको अपहरणपश्चात् हत्या गरेको घटना अत्यन्तै दुखद, निन्दनीय मात्रै होइन, हामी सबै मर्माहत भएका छौं । निश्चित रूपमा त्यो मानवीय प्रवृति हुन सक्दैन । तथापि यो सत्यलाई स्वीकार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

घटनाका दोषीलाई पक्राउ गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेतले विभिन्न किसिमका अभियान जारी राखेको बताउँदै उनले घनाजंगल, ऊखुघारीमा प्रतिवादी लुकेर भाग्दै गरेको अवस्था रहेपनि चाँडोभन्दा चाँडो पक्राउ पर्ने बताए । बलात्कारीलाई कडाभन्दा कडा कानून बनाएर सजाय गर्ने कानून पनि प्रदेश सरकारले बनाइरहेको उनले सदनलाई जानकारी गराए ।

औरहीमा भएको बालिका अपहरण र हत्या घटनाको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति पनि बनाएर छानबिन गर्नुका साथै दोषीलाई कडाभन्दा कडा कारबाही गरिने मन्त्री यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्