
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ नेपालको साथमा रहेको बताएका छन् । नेपाल र भारतको सम्बन्ध शदियौंदेखि चलिआएको यसलाई थप मजबुत बनाउनुपर्नेमा मोदीको जोड थियो ।
काठमाडौंमा शुक्रवार नेपाल-भारत मैत्री पशुपति धर्मशाला उद्घाटन गर्दै मोदीले नेपाल र भारतबीचको सम्बन्ध काठमाडौं र दिल्लीबीच मात्र नभई जनता-जनातबीच भएको बताए ।
उनले दूरीका हिसाबमा नेपाल र भारतका कतिपय स्थान टाढा भएपनि सम्बन्ध भने हजारौं वर्षदेखि नजिक रहेको बताएका हुन् ।
‘काठमाडौं र कन्याकुमारीबीच लामो दूरी छ, तर केही वर्षदेखि तामिलनाडुमा पशुपतिको चर्चा हुनेगरेको छ’, मोदीले भने,‘नेपालले सीता दिँदा भारतले राम दिएको छ ।’
मोदीले नेपालको लुम्बिनीले विश्वलाई गौतम दिएको भन्दै भारतको बोधगयाले बुद्ध दिएको समेत बताए ।
‘नेपालको लुम्बिनीले विश्वलाई गौतम दिएको छ, भारतको बोधगयाले बुद्ध,’ मोदीले भने– 'गौतम बुद्धले देखाएको बाटो विश्वले सामना गरिरहेका अतिवाद तथा आतंकवादजस्ता तमाम समस्या समाधान गर्ने कुराको प्रेरणा स्रोत हो ।'
ओलीसँग मिलेर पशुपति धर्मशाला शिवभक्तलाई समर्पित गर्न पाउँदा आफूलाई निकै खुशी लागेको मोदीले बताए ।
सवा अर्ब भारतवासीको तर्फबाट पशुपतिलाई सानो भेटी दिन पाएकोमा आफू खुसी रहेको उनको भनाइ थियो ।