१० साउन २०८३, आइतबार

३४ घण्टा काठमाडौंमा विताएर फर्किए मोदी, भएनन् राजनीतिक भेटघाट !

३४ घण्टा काठमाडौंमा विताएर फर्किए मोदी, भएनन् राजनीतिक भेटघाट !

काठमाडौं– बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगकाका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागि भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् । 

बिहीवार बिहान साढे ८ बजे काठमाडौं आएका मोदी शुक्रवार साँझ स्वदेश फर्किएका हुन् । मोदी स्वदेश फर्किनु अघि प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले काठमाडौंको तिलगंगामा निर्माण गरिएको नेपाल–भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन गरेका थिए । 

शुक्रवार मध्याह्न बिमस्टेक सम्मेलन समापनपछि प्रधानमन्त्री ओली र मोदीबीच औपचारिक भेटवार्ता भएको थियो । त्यसक्रममा नेपाल र भारतबीच रक्सौल काठमाडौं विद्युतीय रेल निर्माण इन्जिनियरिङ सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । तर यसपटकको भ्रमणमा मोदीले राजनीतिक भेटवार्ता भने गरेनन् । 

बिहीवार काठमाडौंको हायात होटलमा आयोजित रात्रीभोजमा नेपालका केही नेताहरुसँग सामुहिक भेटवार्ता भए पनि दलका नेताहरुसँग छुट्टै वार्ता भने भएन । 
यसअघि गत २८ बैशाखमा नेपालको औपचारिक भ्रमणमा आएको समयमा मोदीले राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री बनेपछिको एकै कार्यकालमा मोदीको यो चौथो नेपाल भ्रमण हो । 

प्रधानमन्त्री निर्वाचित भएपछि मोदी सन् २०१४ मा पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । सोही बर्ष सार्क सम्मेलनमा सहभागि हुन मोदी काठमाडौं आएका थिए । 

शुक्रवार पशुपतिमा धर्मशालाको उद्घाटन कार्यक्रममा मोदीले काठमाडौंमा आउदा आफूलाई आनन्द महसुश हुने बताएका थिए । प्रधानमन्त्री ओलीले मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्