
ताप्लेजुङ– न्यु स्टार झापाले ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यु स्टार फाइनलमा प्रवेश गरेको हो ।
जितसँगै न्यु स्टारले रेड स्टारसँगको भेट पक्का गरेको छ । उपाधिका लागि शनिबार न्यु स्टारले झापाकै रेड स्टारसँग प्रतिस्पर्धा गर्नेछ । रेड स्टारले टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै उपाधिका लागि ठाउँ पक्का गरेको थियो ।
सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा भइरहेको प्रतियोगिताका विजेताले रु तीन लाख एक हजार १११ र उपविजेताले रु एक लाख ५१ हजार १११ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । शनिबार समापन हुने उक्त प्रतियोगिता यही भदौं ८ गतेदेखि शुरु भएको थियो ।