
काठमाडौं – सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका गतिविधिमा सक्रिय रहेका बेला पक्राउ परेर जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा रहेका राममनोहर यादवको मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका–६ गनापुर कपासी घर भएका ३० वर्षीय यादवको प्रहरी हिरासतमा रहेका बेला शुक्रवार राति मृत्यु भएको हो । प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा गडबडी देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रप्रसाद मैनालीले बताए ।
‘हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि शुरूमा स्थानीय जिल्ला अस्पताल गुलरियामा लगिएको थियो, त्यहाँबाट नेपालगञ्ज नर्सिङ होम हुँदै काठमाडौं पुर्याइएको थियो,’ एसपी मैनालीले भने, ‘स्वास्थ्यमा पहिले खासै समस्या त देखिएको थिएन । मृत्युको कारण त रिपोर्ट आएपछि स्पष्ट होला । तर, उच्च रक्तचाप मृत्युको कारण हुन सक्ने सम्भावना छ ।’ बुधवार राति हिरासतमा यादवको हातखुट्टा नचल्ने भएको थियो ।
यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरेपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीवार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले यादवलाई आइसीयूमा राख्न निर्देशन दिएका थिए । त्यसपछि यादवलाई काठमाडौं पठाइएको थियो ।
यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई प्रहरीले भदौ ७ गते बिहीवार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राउ गरेर राज्यविप्लवको मुद्दा लगाई हिरासतमा राखेको थियो । पक्राउ भएकामध्ये हरपाल सिंह, इरफान शेख र राजितराम बर्मा जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमै छन् ।
यसअघि पनि प्रहरीले यादवलाई पटक–पटक पक्राउ गर्ने गरेको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यसभन्दा अगाडि २०७२ चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट समातेर यादवसहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ फागुण ३ गते सफाई दिएको थियो । २०७३ मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो,’ विज्ञप्तिमा लेखिएको छ । ‘त्यसैगरी, २०७४ साल असार २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा असार १९ गते यादवलाई रिहा गरिएको थियो ।’
विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘प्रहरीले बिना कसूर र आधार पटक–पटक पक्राउ गरी यातना तथा ज्यान मार्ने धम्की दिएको विषयमा २०७३ मंसिर १४ गते यादव सहित चारै जनाले नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेरै ज्ञापनपत्र समेत दिएका थिए । त्यसैगरी प्रहरीले हिरासतमा यातना दिएको कारण उनीहरुले बाँके जिल्ला प्रहरी विरुद्ध दर्ता गरेको यातना तथा क्षतिपूर्ति मुद्दा समेत बाँके जिल्ला अदालतमा विचाराधीन रहेको छ ।’
स्वतन्त्र मधेश गठबन्धनले यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने तथा बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने मांग गरेको छ ।