१३ असार २०८३, शनिबार

पूर्वकमलरी समिक्षाको गायनमा छलाङ : विगत बिर्सेर उज्ज्वल भविष्यतिर

भदौ १६, २०७५
पूर्वकमलरी समिक्षाको गायनमा छलाङ : विगत बिर्सेर उज्ज्वल भविष्यतिर

धनगढी – ‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् ।

अतिविपन्न कमैया परिवारमा उनी २०४८ साउन १० गते कैलालीको घोडाघोडी नगरपालिकाको कौहा भन्ने गाउँमा जन्मेकी थिइन् । उनका बुवा आइतवारी राम चौधरी जन्मजात कमैया थिए भने आमा फूलमाया देवी चौधरी बुक्रही थिइन् ।

कमैयामुक्ति पूर्वथारु समुदायका मानिसले जीविकोपार्जनको लागि जमिनदारको घरमा बाँधुवा मजदुर सरह कमैया, कमलरी र बुक्रही भएर काम गर्थे । हाल प्रथालाई नेपालको कानूनले बन्देज गरेको छ ।

उनी पनि घर परिवारको समस्या टार्न आफ्नो दाजुसँगै ८ वर्षको उमेरदेखि नै कमलरी बस्न बाध्य भएकी थिएन् । नेपालगञ्जमा मात्रै होइन, उनले भारत उत्तर प्रदेशको १ जमिनदारको घरमा समेत २ वर्ष कमलरी जीवन बिताइन् ।

तर, हाल समय फेरिएको छ । स्कूल जाने उमेरमा अर्काको घरमा कमलरी जीवन बिताएकी उनै समिक्षा आज गायन क्षेत्रमा छलाङ मारेकी छिन् । उनका हरेक गीत बृद्ध, बालबालिका, तन्नेरी सबैका ओठमा झुण्डिएको पाइन्छ ।

सुरिलो अनि मिठो स्वरकी धनी समिक्षा सबैको मन, मस्तिष्कमा डेरा जमाउन मात्रै सफल भएकी छैनन्, गायन पेशाबाट पनि राम्रो नाम र दाम कमाउन सकिन्छ भन्ने उदाहरण बन्न सफल भएकी छिन् । फलतः धेरैले उनलाई भारतकी मसहुर गायिका अल्का यागमिकको उपमा दिन समेत पछि पर्दैनन् ।

करीब २ सय गीतमा स्वर

विभिन्न सभा समारोह, महोत्वमा गीत गाउँदै हिँड्ने उनी औपचारिक रुपमा भने २०७१ सालदेखि गाउन थालेकी हुन् । उनले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली सभामा सामूहिक श्रद्धाञ्जली गीतमा स्वर दिएर आफ्नो गायन क्षेत्रको दैलो उघारेकी हुन् । हालसम्म उनी थारु, नेपाली, भोेजपुरी भाषाको गरी १३ दर्जन बढी एल्बम, चलचित्र, फुटकर, सामूहिक गीत तथा कोरस गरी करीब २ सय गीतमा स्वर दिइसकेकी छिन् । 

गायनमै निकै व्यस्त रहेकी उनी हाल प्रत्येक महिनामा दर्जनौं गीतमा स्वर दिँदै आएकी छिन् । साउन महिनामा मात्रै २० वटा गीतमा स्वर दिएको उनी सुनाउँछिन् ।

टीकापुर बजार मे, टुहार बोली बा मोट्इल, आँखीम् चश्मा, सातो जुनीसम, मगमग महकठो, उकरुङ, भुक्रुङ, बनके दुहली, चुरिया गुरियालगायत उनका उर्चित गीत हुन् ।

परिवार नै संगीत शिक्षालय

अलि जिज्ञासु अनि गम्भीर स्वाभावकी समिक्षा बाल्य अवस्थादेखि नै गायनमा शौखिन थिइन् । उनका बुवा आइतवारी राम चौधरी र आमा फूलमाया चौधरी मोह्रिया र मोह्रिनिया अर्थात् नाचगानमा गीत गाउने मुख्य व्यक्ति हुन् । थारु समुदायमा मोह्रिया र मोह्रिनियाले नै विभिन्न नाचगानमा गाइने गीतहरूको उठान गर्छन् । आमा बुवालाई पछ्याउँदै उनी गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।

‘बुवा, आमासँगै घरमै ढमार, मागर, झुम्रा, सजनालगायत थारु लोकगीत गाउँथे । घरमा, स्कूलमा समेत सधै गुनगुनाइरहन्थे,’ उनले भनिन्, ‘स्कूलमा गुनगुनाउँदै पढ्दै गर्दा सर, म्याडम र साथीहरू भन्ने गर्थे, तिमी किताबको अभ्यास गर्दैछौं कि गीत लेख्दैछौं भनेर ।’

उसो त उनको गायन क्षेत्रमा ‘सुदूरपश्चिमको तारा’को उपमाले परिचित गायक योगेश भट्टको पनि ठूलो देन छ । योगेश भट्टले नै उनलाई म्युजिक ट्याकमा गीत गाउँ अभिपे्ररित गरे । पछिल्लो समय उनी थारु लोक महागायक मनिराम चौधरीको साथ सहयोग पनि पाउँदै आएकी उनी बताउँछिन् ।

‘गायन क्षेत्र महासागर हो’

गायन पेशालाई थप व्यावसायिक र मर्यादित बनाउन उनी संगीत साधनालाई उत्तिकै महत्त्व दिँदै आएकी छिन् । बेला–बेलामा संगीत कक्षा लिनुको साथै अभ्यास गर्दै आएकी छिन् । उनी काठमाडौंस्थित ‘शान्ति इन्टरटेन्मेन्ट’ संगीत शिक्षालयबाट ३ महिने संगीत कोर्स गरेकी छिन् ।

उनी भन्छिन्, ‘केही आधारभूत संगीत शिक्षा लिएपनि अपूर्ण छु । केही सिकिन्छ भनेर कक्षा शुरू गरे । तर, संगीत त महासागरै रहेछ । कहिलेकाहीँ संगीतको महासागरमा हराएझैं लाग्छ । यद्यमी साधनामा तल्लीन छु, संगीतभित्र पनि फरक पहिचान कसरी स्थापित गर्न सकिन्छ भन्ने मेरो उदेश्य हो ।’

पत्नीको गायनले पति छायाँमा

४ वर्ष कमलरी जीवनपछि उनी घर फर्किएर घोडाघोडी नगरपालिकास्थित विराट सनातन धर्म संस्कृत विद्यालयमा भर्ना भइन् । जहाँबाटै उनी कक्षा ९ सम्मको अध्ययन पूरा गरिन् । २०६९ सालमा लम्कीचुहा नगरपालिका–६ गुुलराका स्थानीय फेरु चौधरीसँग विवाह बन्धनमा बाँधिन पुगिन् । त्यहाँबाट नै उनी प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरिन् ।

गायिका समिक्षाका पति फेरु चौधरी कलाकार, उद्घोषक एवं शिक्षण पेशामा छन् । फेरु चौधरी मञ्चीय कार्यक्रमको उद्घोषण गर्थे भने समिक्षा चौधरी त्यही मञ्चबाटै गीत गाउने गर्थिन् । त्यही मञ्च नै उनीहरूको मिलन बिन्दु हो । मञ्चबाटै चिनजान अनि प्रेम सम्बन्ध र अन्ततः विवाह बन्धनमा बाँधिन पुगे ।

थारु चलचित्र भौंरा, टुटल जिन्दगी, सावन लगायतमा भूमिका निर्वाह गरिसकेका फेरु भन्छन्, ‘म एउटा कलाकर्मी हो । पहिला–पहिला समिक्षालाई फलानाको पत्नी भनेर चिन्थे । तर, आजभोलि फलानीको पति भनेर मलाई चिन्छन् । मलाई पनि लाग्छ, मेडमको बडिगार्ड त हो नि ! उनको मबाहेक को छ ? आधार भन्नु नै म हो,’ आफ्नो  भावुकतालाई भंग गर्दै उनी भन्छन्, ‘यहाँसम्म पुर्याउन धेरै संघर्ष गरेका छौ । काँख छोरीलाई च्यापेर हरेक गीत रेकर्ड गराउन काठमाडौंसम्म लगेको छु । कहिलेकाहीँ लाग्छ छोरीको असली आमा त म पो हुँ ।’

नेसनल पावर न्यूज अवार्डबाट सम्मानित

कुनै बेला गाउँघर, खेतबारी, मेला महोत्सवमा गीत गाउँदै हिँड्ने उनै समिक्षा नेसनल पावर न्यूज अवार्ड २०७५ बाट सम्मानित भएकी छिन्् । एउटी पूर्वकमलरीको पृष्ठभूमिबाट आएकी उनी संगीतको दुनियाँमा नयाँ ‘मिशाल’ कायम गर्न संघर्षरत छिन् ।

salt training

कमेन्ट गर्नुहोस्