२९ असार २०८३, सोमबार

श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गरे लुम्बिनी भ्रमण

भदौ १६, २०७५
श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गरे लुम्बिनी भ्रमण

बुटवल – श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना शनिवार भगवान गौतमबुद्ध जन्मभूमि लुम्बिनी भ्रमण गरी काठमाडौं फर्किएका छन् ।

लुम्बिनीमा झण्डै ४ घण्टा बिताएर सिरिसेना काठमाडौं फर्किए । उनी लुम्बिनी पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारी, ५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झा, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी लगायत लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।

सिरिसेना लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थनामा पनि सहभागी भए । उनले लुम्बिनीका बौद्धगुरूको सहयोगमा प्रार्थना गरेका थिए । 

कार्यक्रममा संस्कृतिमन्त्री अधिकारीले विश्वका बुद्ध धर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण गन्तव्य रहेको बताउँदै राष्ट्रपति सिरिसेनाको भ्रमणले लुम्बिनीको विकासमा महत्वपूर्ण प्रेरणा मिल्ने र योजनाबद्धरुपमा यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । बिमस्टेक सम्मेलन सकिएलगत्तै उनी लुम्बिनी आएका हुन् । 

म्यानमारका राष्ट्रपति विन मीन्ट बिमस्टेक सम्मेलन शुरू हुनु १ दिन गएको बुधबार लुम्बिनीको भ्रमण गरेका थिए । श्रीलंकाका राष्ट्रपतिले पनि आफ्नो राष्ट्रले निर्माण गरेको श्रीलंकन मन्दिरको अवलोकन गर्ने कार्यक्रम समेत छ । श्रीलंकन भ्रमण टोली ४४ सदस्यीय रहेको थियो ।

सिरिसेना लुम्बिनी भ्रमणमा आउने भएपछि रूपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । लुम्बिनी आउने पर्यटकमध्ये पहिलो स्थानमा श्रीलंका छ ।

अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०१७ मा ४८ हजार ३ सय ९९ जना श्रीलंकन पर्यटकले स्थलमार्गबाट बेलहिया हुँदै लुम्बिनीको भ्रमण गरेका थिए । त्यसपछि थाइल्यान्ड र तेस्रो नम्बरमा म्यानमारका हुन्छन् । थाइल्यान्डका ३३ हजार ६ सय ९३ र म्यानमारका पर्यटकको संख्या २८ हजार १ सय ७४ जनाले भ्रमण गरेको तथ्याङ्क छ ।

salt training

कमेन्ट गर्नुहोस्