१८ असार २०८३, बिहीबार

प्रमुख समाचार : यति एयरलाइन्सको विमान दुर्घटना, बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

प्रमुख समाचार :  यति एयरलाइन्सको विमान दुर्घटना, बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौं– त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । 

नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएएचडब्लू’ विमान शनिबार राती अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । सो क्रममा ५ यात्रु सामान्य घाइते भएका छन् । 
जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याएको विमानस्थलले जनाएको छ । 
 

बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । 
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता हुनेछ । 
सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने छ । 
यस्ता अभ्यासले एक अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझन, विपद्को समयमा मिलेर खोज तलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न तथा अरु सहयोग आदानप्रदान गर्न सजिलो हुने विश्वास गरिएको छ । 

सासूको हत्या आरोपमा बुहारी पक्राउ

आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । 

दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

इप्रका तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गत भदौ २ गते झारफुक गराउन भनी घरबाट सल्यानको कपुरकोट पुगेका सासूबुहारी भोलिपल्टसमेत घर नफर्केको र उनीहरुको साथमा रहेको मोबाइ स्वीच अफ भएको भन्दै परिवारका सदस्यले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका लागि जाहेरी दर्ता गराएका थिए । 

सोहीअनुरुप प्रहरीले खोजतलाश तथा अनुसन्धानलाई तीव्र पारेको थियो । अनुसन्धानका क्रममा शुक्रबार बिहान सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं २ को शिव मन्दिर सामुदायिक वनको भकमको भिर जङ्गलमा खोपी रावतको शव फेला परेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।  

४० वर्षीय टङ्कीमाथि शङ्का गरी खोजतलाश गर्दा उनी कपिलवस्तु जिल्लाको कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेकी टङ्कीले आफूले सासूको लाँठी र हसियाँ प्रहार गरी गत भदौ ५ गते हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । उनले प्रहरीसमक्ष आफू सधँै लगातार बिरामी परिरहने र सोही क्रममा धामीझाँक्री कहाँ जारफुक गराउन जाँदा सासू नै बोक्सी रहेको र निको नहुने बताएपछि आफूले योजना बनाएर हत्या गरी फरार रहेको बताएकी हुन् । 

नेपाल–श्रीलङ्का द्विपक्षीय वार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबीच शनिबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भएको छ।

त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपतिद्वयको उपस्थितिमा दुवै देशका अधिकारीले आपसी सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नेपालको परराष्ट्र अध्ययन प्रतिष्ठान र श्रीलङ्काको बन्दरानायके अन्तर्रा्ष्ट्रिय कूटनीतिक प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यको समझदारी भएको छ । उक्त समझदारीपत्रमा परराष्ट्र सचिव शङ्करदास वैरागी र नेपालका लागि श्रीलङ्काली राजदूत डब्ल्यू एस परेराले हस्ताक्षर गरे ।  

त्यसैगरी दुई देशबीच युवा विकाससम्बन्धी समझदारी भएको छ । आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले हस्ताक्षर गरे । 

दुई पक्षीय वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकु¥याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । 
यसैबीच सिरिसेना र प्रधानमन्त्री केपी शर्मा ओली बीच पनि भेटवार्ता भएको छ । उनी शनिबारै लुम्बिनी पुगेर पूजाअर्चना गरी काठमाडौं फर्किएका थिए । 

बलत्कारी पक्राउ
कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । 

पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । 

गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए । 

शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ । 

 गान्धी धार्मिक यात्रामा
 भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी  ल्हासातर्फ प्रस्थान गरेका छन् । 

धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौं आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन् । 


‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई

जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ । 

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिश समितिको सर्वसम्मतिबाट करीव पाँच वर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका नेता बास्तोलालाई प्रदान गर्ने निर्णय गरिएको हो । 

उनलाई प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याए वापत रु ५० हजार राशिको सो पुरस्कार प्रदान गरिने भएको हो । रु एक लाख एक हजार राशिसहितको “बीपी साहित्य सम्मान पुरस्कार” भने यस वर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कार बीपी जयन्तीका अवसरमा बीपी ट्रष्टद्वारा यही भदौ २२ गते काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ । 

विमानस्थल अब दैनिक २२ घण्टा

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शनिबार  बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । 

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । 

यसअघि बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछि मात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । 

नजिकिएको चार्डपव, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाई समेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा शुरु गरेको हो । 

नेपालको पहिलो जीत
 एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । 

मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो । 

मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई, सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । मलेशियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२, भिरनदीप सिंहले २१, मोहम्मद रम्लीले १३ र सरभिन मुनियान्डीले १० रन बनाए । 

ययअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा दिपेन्द्रसिंह ऐरी र अरिफ शेषको अर्धशतकको मद्दतले सात विकेटको क्षतिमा १८८ रन बनाएको छ । 

नेपालका लागि कप्तान पारस खड्काले १३, अनिलकुमार साहले १६, दिपेन्द्रसिंह ऐरीले ५४, ज्ञानेन्द्र मल्लले ११, अरिफ शेषले नटआउट ६४ रनको योगदान गरे । खेल शुरु हुनुअघि बिहान भारी वर्षा भएपछि खेल ३० ओभरमा झारिएको थियो । 

नेपाल यसअघि १३ भदौमा ओमानसँग र १४ भदौमा युएइसँग पराजित भएको हो । मलेशियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । शनिबारको जितसँगै महत्वपूर्ण दुई अङ्क समेत जोडेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्