०७ साउन २०८३, बिहीबार

एसिया कप छनोट : आक्रामक शैलीमा विजयी लक्ष्य पछ्याउँदै नेपाल

एसिया कप छनोट : आक्रामक शैलीमा विजयी लक्ष्य पछ्याउँदै नेपाल
फाइल फोटो

काठमाडौं – एसीसी एसिया कप छनोट प्रतियोगितामा सिंगापुरले प्रस्तुत गरेको १५२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक शुरूवात गरेको छ ।

अनिल साह ३२ बलमा ४३ रन जोडेर आउट भएका छन् । यो समाचार तयार पार्दासम्म १२ ओभरमा नेपालले १ विकेट गुमाएर ६७ रन जोडेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन जोडेको थियो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्वाधिक ६० रन जोडे ।

सिंगापुरलाई मध्यम स्कोरमा रोक्ने क्रममा  ललित राजवंशी र सन्दीप लामिछानेले समान ३, सोमपाल कामीले २ तथा वसन्त रेग्मीले १ विकेट लिए ।

यसअघि खेलेका तीनवटै खेलमा सिंगापुर पराजित भएको थियो । नेपालले भने एक खेल जित्दा दुई खेलमा हार बेहोरेको छ ।

नेपाल र सिंगापुरका अलावा ओमान, युएई, हङकङ र मलेसिया सहभागी प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।

एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यता प्राप्त राष्ट्र सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्