१३ असार २०८३, शनिबार

अमेरिकाको कोलोराडोमा प्रहरीले गोली हान्दा नेपालीको मृत्यु, को थिए वीरेन्द्र ठकुरी ?

अमेरिकाको कोलोराडोमा प्रहरीले गोली हान्दा नेपालीको मृत्यु, को थिए वीरेन्द्र ठकुरी ?

काठमाडौं — पासाङ शेर्पा आफ्ना साथी वीरेन्द्र ठकुरीको बारेमा सोच्दा उनको मुस्कान सम्झिन्छन् ।

विगतका यादहरू मस्तिष्कमा आउँदै गर्दा उनी ठकुरीलाई नेपालीहरूको कार्यक्रममा भाग लिएको अनि बूल्डर क्रीक जलाशयमा पौडी खेलेको र गोल्डेन नामक स्थाननजिक पहाडको फेदमा साइकल गुडाएको सम्झन्छन् ।

सत्ताईस वर्षीय ठकुरी अब यी कुनै पनि कुरा गर्न सक्ने छैनन् । 

स्ट्राटफोर्ड लेक्सको शान्त वेस्टमिन्स्टर टोलनजिक –यान्च रिजर्भ पार्कवे र फेडेरल बूलेभार्डको दोबाटोमा अगस्ट २५ अर्थात् भदौ ९ गते मानिसहरू झगडा गरिरहेको खबर पाएपछि एक प्रहरी अधिकारी त्यहाँ पुगे । 

ती अधिकारी आएपछि ठकुरी र उनका भाइ उनीनजिक गएको प्रहरीको भनाइ छ । त्यसपछि झैझगडा भयो र प्रहरी अधिकारीले ठकुरीको ज्यान जाने गरी गोली प्रहार गरे, प्रहरी बताउँछ ।

ठकुरी निहत्था थिए, उनका वकिल गेल जोनसोन भन्छन् । उनको कोलोराडोमा कुनै पनि आपराधिक रेकर्ड नभएको कोलोराडो अनुसन्धान ब्युरोको प्रतिवेदनमा उल्लेख छ । 

अनुसन्धान जारी रहेको भन्दै वेस्टमिन्स्टर प्रहरीले यो घटनामा विस्तृत टिप्पणी गरेन । 

ब्रूमफील्डमा बस्ने ठकुरी अमेरिकामा १० वर्षभन्दा बढी समयदेखि थिए । उनको मृत्युले डेन्भर मेट्रोमा रहेको विशाल तथा एकजुट नेपाली समुदायलाई नराम्ररी हल्लाएको छ । धेरैजना ठकुरीलाई किन गोली हानियो, उनी त्यस
ठाउँमा किन आफ्ना भाइसँग झगडा गरेर बसेका थिए र वास्तवमा के भएको थियो कसैलाई किन थाहा नभएको हो भनी प्रश्न गरिरहेका छन् । 

अमेरिकामा विशेष गरी गैरश्वेत निहत्था मानिसलाई प्रहरी अधिकारीहरूले गोली हान्ने घटना दोहोरिने गरेको छ । बडी क्यामराबाट खिचिएका गोलीप्रहारका घटनाको भिडियोले जनतामा आक्रोश र यसविरुद्ध अभियान जन्माएको छ
। 

‘यस घटनाबाट पूरै नेपाली समुदाय स्तब्ध भएको छ,’ कोलोराडो विश्वविद्यालयको नेपाली विद्यार्थी संघका सहअध्यक्ष आशुतोष अधिकारीले बताए । 

नेपालमा आएको कुनै व्यक्तिलाई अधिकारीले गोली हानेर मारेको यो नै पहिलो घटना हुनुपर्ने रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी बताउँछन् । 

वीरेन्द्र ठकुरी फर्स्ट नेसनल बैंकमा जागिरे थिए । 

‘ठकुरीकी आमा के भएको थियो भन्ने प्रश्नको उत्तर चाहन्छिन्,’ वकिल जोनसोनले भने ।

ठकुरीको मृत्युपछि उनका साथी र नेपाली समुदायका मानिसले सामाजिक सञ्जालमा ह्याशट्याग जस्टिसफरवीरेन्द्र शुरू गरेका छन् ।

डेन्भरपोस्ट डट्कममा प्रकाशित ज्याकसन बार्नेटको रिपोर्ट
 

salt training

कमेन्ट गर्नुहोस्