
काठमाडौं– एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ ।
मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन जोडेको थियो ।
सिंगापुरविरुद्धको ब्याटिङमा नेपालका अनिल साहले सर्वाधिक ४३ रन बनाएर भने दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए । ज्ञानेन्द्र मल्ल २९ रन बनाएर आउट हुँदा ओपनर सुवास खकुरेल १४ रनमा आउट भए । कप्ना पारस खड्को ११ रन बनाउँदा आरिफ शेखले ४ रन बनाए ।
यसअघि सिंगापुरका लागि लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्वाधिक ६० रन बनाएका थिए ।
सिंगापुरलाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३, सोमपाल कामीले २ तथा वसन्त रेग्मीले १ विकेट लिए ।
यसअघि खेलेका तीनवटै खेलमा सिंगापुर पराजित भएको थियो । नेपालले भने एक खेल जित्दा दुई खेलमा हार बेहोरेको छ ।
नेपाल र सिंगापुरका अलावा ओमान, युएई, हङकङ र मलेसिया सहभागी प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।
एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यता प्राप्त राष्ट्र सहभागी हुनेछन् ।