
काठमाडौं — लन्डन शहरका मेयर सादिक खानले बिकिनी लगाएको विशाल बेलून शनिवार संसद् परिसरबाट उडाइएको छ । यो २९ फीट लामो विवादास्पद बेलूनको सामाजिक सञ्जालमा खुबै चर्चा भइरहेको छ ।
बेलून उडाउनका लागि लगभग ३४ सय मानिसले ५८ हजार १८२ रुपैयाँ दान दिएका थिए । लन्डनमा बढिरहेका आपराधिक घटनालाई कम गर्न नसकेकोमा सादिकको विरोध गर्न बेलून उडाइएको हो ।
मेक लन्डन सेफ अगेन अभियानको क्राउडफन्डिङ पेजमा लेखिएको छ, ‘अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको लन्डनयात्राका बेलामा बेबी ट्रम्प बेलून उडाउने अनुमति दिइएको थियो । अब बेबी खानको बेलून उडाऔं र हेरौं, अभिव्यक्ति स्वतन्त्रता सबैका लागि हो कि हैन भनेर ।’
पृष्ठमा भनिएको छ, ‘सादिक खानको कार्यकालमा अपराधको स्तर माथि पुगेको छ । लन्डनमा मानिस सुरक्षित अनुभव गर्दैनन् र सुरक्षित छैनन् पनि । यसै वर्ष ८१ हत्याहरू भए ।’
खानले यस विषयमा प्रतिक्रिया दिँदै भने, ‘मानिस मलाई पहेंलो बिकिनी लगाएको हेर्न चाहन्छन् भने स्वागत छ ।’




एजेन्सी