
कञ्चनपुर– भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अर्को टोली कञ्चनपुर पुगेको छ ।
सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवाली नेतृत्वको टोली कञ्चनपुर पुगेको हो । टोलीमा प्रहरी नायव उपरीक्षक (डिएसपी) कमल थापा र अन्य २ जना कनिष्ठ अधिकृत छन् ।
यसअघि सिआईबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा टोली कञ्चनपुर पठाए पनि स्थानीयहरुले सिआईबीको टोलीले गरेको अनुसन्धान तथ्यपूर्ण नभएको भन्दै आन्दोलन शुरु गरेका थिए ।
सिआईबीका अंगुर जिसी नेतृत्वको टोलीसहित अनुसन्धानका आधारमा भनेर कञ्चनपुर प्रहरीले निर्मला हत्यामा संलग्न भनेर स्थानीय दिलीप सिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।
मानसिक स्वास्थ्य ठीक नभएका भनिएका ४१ वर्षीय दिलीप वास्तविक अभियुक्त नभएको भन्दै स्थानीयले आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्ली बिष्टलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ ।
निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु समेत भइसकेको छ ।
एसएसपी ज्ञवाली नेतृत्वको टोलीले निर्मला पन्तको हत्याको घटनामा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिलाई सघाउने छ ।