
काठमाडौं — ग्रीसको प्राचीन देवता हेराक्लिज र हिन्दू देवता श्रीकृष्णलाई एउटै मान्ने आधारहरू रहेको केही विद्वानको मत छ ।
भारतमा ग्रीसका राजदूत मेगस्थनिजले कृष्णका कथाहरू ग्रीस लगेका थिए र त्यहाँको स्थानीय भाषामा श्रीकृष्णलाई नै हेराक्लिज नाम दिइयो । यसरी ग्रीसेली देवता हेराक्लिज पौराणिक कथाको हिस्सा बने ।
मेगस्थनिजले आफ्नो किताब इन्डिकामा लेखे, ‘चन्द्रगुप्त मौर्यको शासनकालमा भारतीय समुदाय आफ्नो भूमिमा हेराक्लिज नामक देवताको आराधना गर्थे । यस भूमिमा दुई शहर थिए ः मेथोरा र क्लीसोबोरा । त्यहाँ जबोरेस नामक नदी पनि बग्थ्यो ।
मेथोरा भन्नाले मथुरा, क्लीसोबोरा भन्नाले कृष्णपुर र जबोरेस भन्नाले यमुना नदी हो ।
अलेक्जेन्डरका समकालीन ग्रीक इतिहासकारका अनुसार, पोरससँग युद्ध लड्दा उनीहरू हेराक्लिज अर्थात् कृष्णको मूर्ति राख्थे ।
पुस्तक प्रमाणबाहेक केही पुरातात्त्विक प्रमाण पनि यसको समर्थन गर्छन् । केही वर्षअघि ग्रीसको एक पुरातत्त्वस्थलबाट दुई सय वर्ष ईसापूर्वमा ग्रीक सभ्यताका सिक्का भेटिए जसमा एक देवतालाई कृष्णको जस्तो हातमा सुदर्शन चक्र
लिएका एक देवता र बलरामको जस्तो गदा र हलो कुँदिएको छ ।
ग्रीसेली पौराणिक कथा र भारतीय पौराणिक कथामा केही समानता देखिन्छन् ।
श्रीकृष्ण र हेराक्लिजको जन्मको कथा पनि समान छ । हेराक्लिजकी सौतेनी आमा हेरालाई उनी मन पर्दैनथियो । हेराले हेराक्लिजलाई मार्न दुई सर्प पठाइन् । तर उनी सर्पसँग खेलिबसे । कंसले कृष्णलाई मार्न राक्षसहरू पठाएको जस्तै
देखिन्छ हेराक्लिजमाथिको घटना । हेराक्लिजको संघर्ष सौतेनी आमासँग भयो भने कृष्णको मामा कंससँग । 
श्रीकृष्णले कान्छी औंलामा गोवर्धन पर्वत उठाएजस्तै, हेराक्लिजले आफ्नो काँधमा ब्रह्माण्ड उठाएको कथा आउँछ ।