०३ साउन २०८३, आइतबार

आर्थिक वर्षको पहिलो महिनामै अर्थमन्त्रालयले बाँड्यो ३ करोड

आर्थिक वर्षको पहिलो महिनामै अर्थमन्त्रालयले बाँड्यो ३ करोड

काठमाडौं–अर्थ मन्त्रालयले सरकारी ढुकुटीबाट चालू आर्थिक वर्षको पहिलो महिना(साउन)मा ३ करोड रकम वितरण गरेको छ । मन्त्रालयले साउनमा मात्रै विभिन्न मन्त्रालय र निकायमार्फत व्यक्तिहरुलाई  ९९ लाख ४५ हजार रकम निकासा गरेको छ । यस्तै काठमाडौंमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनका लागि गृहमन्त्रालयलाई २ करोड रुपैयाँ रकमान्तर गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको साउन महिनामा निकासा भएको तथ्यांकअनुसार छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई विशेष राहत स्वरुपमा गृहमन्त्रालय मार्फत २० लाख रकम उपलब्ध गराएको छ ।

यस्तै मन्त्रिपरिषद्ले गरेको विभिन्न निर्णयका आधारमा नेपाल कम्युनिष्ट पार्टी पर्सालाई विभिन्न शिर्षकमा २८ लाख ५३ हजार रकम निकासा गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै मन्त्रिपरिषद्को निर्णयअनुसार बाजुरा छेडदह ५ का हस रावतका हकदारका नाममा १० लाख रहम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । 

चालू आर्थिक वर्षको साउनमा निकासा भएको रकममा करदाता सेवा कार्यालय कालिमाटी अन्तर्गतका करदाता प्रमिला पराजुलीले अग्रिम आयकर मार्फत बढी दाखिला गरेको रकम फिर्ताका लागि आन्तरिक राजस्व विभागका नाममा ९४ हजार रुपैयाँ निकासा गरेको पनि उल्लेख छ । 

यस्तै अर्थमन्त्रालयले काठमाडौं महानगरपालिका ४ चण्डोलका पिताम्बर आम्बुहाङका नाममा २ लाख २५ हजार निकासा गरेको छ ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको उपचारका क्रममा नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउन लैजाँदाको खर्च परराष्ट्र मन्त्रालयको नाममा १४ लाख ९८ हजार ६ सय ९ पनि अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिएको छ ।

यसरी अर्थमन्त्रालयले सरकारी ढुकुटीबाट साउन महिनामै विभिन्न ब्यक्ति तथा संस्थालाई आर्थिक सहायता र कर फिर्ताका लागि विभिन्न मन्त्रालय तथा निकायलाई ९९ लाख ४५ हजार ६ सय ९ रुपैयाँ निकासा गरेको छ । 

यसैगरी यही भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनका पाहुनाको सवारी व्यवस्थापन तथा बुलेट पु्रफ गाडीका लागि गृहमन्त्रालयका नाममा रकम २ करोड रकमान्तर गरेको छ । 

ढंग पुगेन

सार्वजनिक वित्त व्यवस्थापनमा अझै पनि सुधार हुन नसक्दा आर्थिक वर्षको पहिलो चौमासिकमै रकमान्तरहुनु एक समस्या देखिरहेको विज्ञहरु बताउँछन् ।

सार्वजनिक खर्च पूनरावलोकन आयोगले दिएको सुझाव अनुसार २०५७ पछि नेपालको सार्वजनिक खर्च व्यवस्थापनमा सुधार भए पनि बजेट विनियोजनमा अझै ढंग पुर्याउन नसकेको अर्थ विश्लेषक युवराज भुषालले जानकारी दिए ।  उनले भने, ’बजेट विनियोजन गर्दा विभिन्न शिर्षककमा रकम विनियोजन गरिन्छ । हो, त्यतिबेला ढंग नै नपुर्याएको देखिन्छ । त्यसको एउटा उदाहरण, बिमस्टेकका पाहुनाका लागि अहिले २ करोड रकम विनियोजन भएको छ । त्यो सम्मेलन त पहिल्यै थाहा थियो नि सरकारलाई । पहिले नै यो रकम छुट्याउनुपर्छ ।’

अर्का विश्लेषक हरि रोकाले पनि सार्वजनिक वित्त व्यवस्थापन अझै व्यस्थित हुन नसक्दा पहिलो महिनामै रकमान्तर गर्नुपरेको बताए । आर्थिक सहायता आवश्यक ठाउँमा गर्नुपर्ने भए पनि यसको स्पष्ट मापदण्ड नभएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्