१३ असार २०८३, शनिबार

प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई निस्तेज गरिन्छः  आईजीपी खनाल

भदौ १८, २०७५
प्रहरीमा हुने राजनीतिक हस्तक्षेपलाई निस्तेज गरिन्छः  आईजीपी खनाल

बारा– नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय बारा तथा व्यारेक र हिरासतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले राष्ट्र र नेपाली नागरिकको सेवामा सदैव समर्पित रहन नेपाल प्रहरीलाई निर्देशन दिए । 

प्रहरी महानिरीक्षक खनालले दोषीलाई नछोड्ने र निर्दोषलाई नफसाउन काममा प्रहरी पूर्णरुपमा चनाखो हुनुपर्छ भन्दै भन्दै प्रहरीप्रति नागरिकको भरोसालाई कायम राख्न कुनै कसर बाँकी नराख्न मातहातका सबैलाई निर्देशन दिए । 

प्रहरीले एक्लै शान्ति सुव्यवस्था कामय राख्न तथा अपराध नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले यस कार्यमा नागरिकको सहयोग अपरिहार्य भएको बताए । 

प्रहरी महानिरीक्षक खनालले नागरिक पनि बिना बर्दीको प्रहरी भएको बताउँदै समाजमा हुने विकृति, विङ्गतिलाई हटाउनमा पनि नागरिक अग्रसर हुनुपर्नेमा जोड दिए । 

“कानुनको नजरमा साना र ठूला कोहि हुँदैन्, सबै सम्मान हुन्, त्यसैले प्रहरीले सबै नागरिकलाई सम्मानका साथ व्यवहार गर्नुपर्छ”, उनले भने, “निहथा जनतालाई थुन्ने काम कुनै पनि हालतमा गर्नु हुँदैन, गल्ती गर्ने प्रहरीलाई हदैसम्मको कारवाही गरिनेछ ।” 

महानिरीक्षक खनालले बेखाबखतमा प्रहरीमा हुने गरेको राजनीतिक हस्तक्षेपलाई पूर्णरुपमा निस्तेज नगरेसम्म नागरिकले चाहेको जस्तो न्याय सम्पादन हुन नसक्ने हुँदा प्रहरीमा राजनीतिक हस्तक्षेपलाई रोक्नुपर्नेमा जोड दिए । 

नागरिकको प्रहरीप्रति सहयोग र सद्भाव रह्यो भने विश्वकै उत्कृष्ट प्रहरी नेपालको प्रहरीलाई बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । 

सो अवसरमा बारा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र प्रदेश नं २ का प्रहरी प्रमुख दिनेश अमात्यले अपराध नियन्त्रणमा स्थानीय प्रहरी प्रशासन दृढतापूर्वक लाग्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्