
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा सरकारका मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका छन् ।
देश र जनताका अपेक्षासामु व्यक्ति गौण हुने उनको भनाइ छ ।
आफ्नै निवास खुमलटारमा सम्पादक र राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसारको काम गर्नका लागि आवश्यक परे मन्त्रीहरूको हेरफेर हुनसक्ने बताएका हुन् ।
‘पहिलेको सरकार र कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकारका बीचमा के फरक भयो ? जनतामा निराशा भयो भन्ने खालका गुनासा आएका छन्,’ प्रचण्डले भने, ‘धेरै टिप्पणी गरेर समस्या समाधान त हुँदैन । तर सरकारको समीक्षा गर्ने बेला भयो भनेर दुई अध्यक्षबीच गम्भीर छलफल र समीक्षा शुरू भएको छ ।’
प्रचण्डले सरकारका काम कारवाहीको विषयमा प्रधानमन्त्री केपी ओलीसँग आफूले आजै छलफल गर्न लागेको बताए ।
‘जनतामा बढेको निराशालाई हटाउनका लागि जस्तोसुकै कदम चाल्ने हो, कोही मन्त्री परोस्, नपरोस्, पार्टी आन्दोलन र जनताका अपेक्षाभन्दा व्यक्ति ठूलो होइन,’ प्रचण्डले भने ।
प्रचण्डले जनताको पक्षमा काम गर्न नसक्ने दुईचार जना मन्त्री हट्न सक्ने संकेत पनि गरे ।
भारत र चीनमा त्रिपक्षीय साझेदारीको कुरा गर्छु
अध्यक्ष प्रचण्डले आफूले बिहीवादेखि भारत भ्रमण गर्न लागेको र त्यो राष्ट्रिय हित र विकासको चाहनाको पक्षमा हुने बताए ।
‘पर्सि इन्डिया जाँदैछु, मेरो रहले होइन, पार्टी एकता भएपछि एउटा अध्यक्ष जानुभयो । अर्को अध्यक्ष आइदिए हुन्थ्यो भन्ने मित्र राष्ट्रको चाहनाका कारण म पर्सि भारत र ६ दिनपछि चाइना जान्छु,’ प्रचण्डले भने, ‘भारत र चीनको भ्रमण राष्ट्रिय हित र विकासको चाहनामा केन्द्रित हुन्छ । सरकारका पक्षविपक्षमा लाग्ने काम हुँदैन । यी सबै गलत अफवाह र भ्रमपूर्ण कुरा हुन् ।’
प्रचण्डले आफ्नो भ्रमण नेपालको विकासमा त्रिदेशीय सहकार्य विस्तारमा केन्द्रित हुने बताए ।
उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता र बुद्धिजीवीहरूसँग छलफल गर्ने बताए ।
वृद्धभत्ता बढाएको भए हाईहाई हुन्थ्यो
अध्यक्ष प्रचण्डले दुई अध्यक्षको समय नमिल्दा पार्टी एकताका कतिपय काम अड्किएको बताए । ‘पार्टी एकताका बाँकी कामहरू समस्या भएर अड्केका होइनन्, दुवै अध्यक्षको समय मिलाउन गाह्रो हुँदा अड्केका छन् । यो माहिनाको अन्तिमसम्ममा पार्टी एकतामा थाती रहेका काम टुंगो लाग्छ,’ प्रचण्डले भने ।
पत्रकारहरूको एक प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले पूरक बजेट समाधान नभएको बताए ।
‘अहिले प्रचण्ड किन मौन बस्यो बोल्दैन भनेर टिकाटिप्पणी भएको सुनियो । बोल्दा पनि अप्ठ्यारो र नबोल्दा पनि अप्ठ्यारो,' प्रचण्डले भने, 'सरकारका पक्षमा बोलेकै छु, आफ्नो ठाउँबाट पहल गरेकै छु ।'
प्रचण्डले पछिल्ला दिनमा समाजमा भइरहेका घटनाले सामाजिक बिचलन बढेको भन्दै चिन्ता लागेको बताए ।
‘समाजिक बिचलन हुन नदिन सरकार सँगसँगै मिडियाको पनि भूमिका छ,’ प्रचण्डले भने ।