
विराटनगर– पछिल्लो समयमा झापासंँग जोडिएका सीमावर्ती क्षेत्रमा नक्कली नोट र सुन कारोबार लगायतका आपराधिक क्रियाकलाप देखा परेसँगै दुवै देशका सुरक्षाकर्मीले संयुक्त सीमा गस्तीलाई तिव्रता दिएका छन् । नजिकिँदै गरेका दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतीय सुरक्षाकर्मीको सहकार्यमा सीमा गस्तीलाई तिव्रता दिएको सशस्त्र प्रहरी बल नेपाल झापा गण नम्बर २ का प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिए ।
उपरीक्षक थक्सुले संयुक्त सीमा गस्ती नियमित कार्यक्रम नै रहेको बताए । पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा देखा परेका सीमा अपराधलाई न्युनिकरण र रोकथाम गर्ने उदेश्यले गस्तीलाई तिव्रता दिएको उनको भनाई छ । झापाको मेचीनगरदेखि भद्रपुर नगरपालिका, कचनकवल, झापा हुर्दै गौरीगञ्ज गाउँपालिकासंग जोडिएको सीमावर्ती नाकामा दिनैपिच्छे सीमा गस्ती गरिनेछ ।
त्यसैगरी आउँदै गरेको चाडपर्वमा हुने अपराधिक घटना रोकथामका लागि झापामा सीमा गस्ती शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । संयुक्त गस्तीमा वडा प्रहरी कार्यालयको नेतृत्वमा ९ जना, सशस्त्र प्रहरीका २३ र भारतीय एसएसबीका १५ जना गरी ४७ जनाको टोली रहेको छ ।