
काठमाडौं– पूजारीका हातखुट्टा बाँधेर गुम्बामा लुटपाट गर्ने ५ जना पक्राउ परेका छन् । काभ्रेको खानीखोला–७ स्थित छोइछेल गुम्बाका पूजारी ८४ वर्षीय तिलक लामालाई बाँधेर पेस्तोल देखाइ गुम्बामा रहेको १ वटा शंख र ३ लाख ५० हजार रुपैयाँ लुटेर भागेका ५ जना ललितपुरबाट पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले लुटेराहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेका खानीखोला–७ का २८ वर्षीय अनिल घिसिङ, खानीखोला–२ को ३६ वर्षीय रमेश थोकर, सोही ठाउँका २३ वर्षीय जगत बहादुर गोले, काभ्रेको पनौती–८ का २२ वर्षीय विकाश बन्जरा र काभ्रेका २७ वर्षीय निशान गोली छन् ।
बा ५६ प ७०८३ र बा ६७ प ३७३३ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले पूजारीलाई बाँधेर गुम्बामा भएको सामान र नगद लुटेर फरार भएका थिए ।
उनीहरुसँगको सोधपुछका आधारमा लुटपाटमा प्रयोग गरिएको हतियार समेत बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रबीन्द्र धानुकले लोकान्तरलाई जानकारी दिए ।
गुम्बा लुटपाटमा संलग्न रहेका ५ जनाले लुटपाटमा प्रयोग गरेको १ वटा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको एसएसपी धानुकले जानकारी दिए ।