०६ असार २०८३, शनिबार

लुम्बिनीमा भीआईपीको भ्रमणपछि पर्यटकमैत्री बसको बन्दोबस्त

भदौ २१, २०७५
लुम्बिनीमा भीआईपीको भ्रमणपछि पर्यटकमैत्री बसको बन्दोबस्त

बुटवल – जगदम्बा ट्राभल्स प्रालिले केही दिन अगाडि लुम्बिनी पोखरा रूटमा स्तरीय एसी बस सञ्चालनमा ल्यायो । पोखराका पर्यटकहरूलाई लुम्बिनी ल्याउने उद्देश्यसहित प्रालिले केही महिनाभित्र झण्डै १० वटा बस सञ्चालन गर्ने गरी तत्कालका लागि दुई वटा बस सञ्चालन गरेको हो ।

सिद्धार्थ यातायात प्रालिले यहीँ भदौभित्रै बुटवल–बेलहिया (सुनौली) रूटमा वातावरण अनुकूलका सञ्चालन गर्दैछ । झण्डै साढे तीन करोड रूपैयाँ लगानीमा सिद्धार्थले ६ वटा एसी बस बुटवल–बेलहिया, बेलहिया–लुम्बिनी र लुम्बिनी सौराहा रूटमा सञ्चालन गर्न लागेको छ ।

बुटवलस्थित लुम्बिनी मेट्रोसिटी प्रालिले आउँदो असोज १ गतेदेखि बुटवलदेखि बर्दघाट, तौलिहवा, कृष्णनगर, लुम्बिनी, अर्घाखाँची, गुल्मी, पाल्पा, रानीमहल र बर्दघाट रूपमा ४५ सिट क्षमताका १५ वटा एसी बस सञ्चालनमा ल्याउँदैछ । मेट्रोसिटीले भित्र्याउन लागेका गाडी एकतर्फको साइडमा ३ वटा र अर्कोतर्फ २ वटा सिट भएका गाडी हुने छन् । 

यी त केही उदाहरण मात्रै हुन् । सरकारले कम्पनी अन्तर्गत सञ्चालित यातायातलाई प्रोत्साहन गर्ने नीति लिएपछि स्तरीय गाडी भित्र्याउने होड चलेको छ ।

लुम्बिनीमा यसै महिला श्रीलंकाका राष्ट्रिपति मैत्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति बिन मिन्टको भ्रमणले यस क्षेत्रमा यातायात व्यवसायीदेखि होटल व्यसायीहरू पनि उत्साहित छन् । अब लुम्बिनीमा पर्यटकको संख्या समेत थपिन यातायात व्यवसायीको अनुमान छ । 

गत बैशाखमा सरकारले यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट हटेसँगै यस क्षेत्रमा प्रालिमार्फत् यायातात समिति दर्ता भएर ठूला सार्वजनिक यातायातका गाडी भित्र्याउने प्रतिष्पर्धा गरेका हुन् । जसको फाइदा यात्रुलाई हुने देखिएको छ । यी गाडीले नर्मल गाडीले भन्दा २० प्रतिशतसम्म बढी भाडादर लिन पनि पाउने छन् ।

स्थानीय रूटमा चल्ने तयारी गरेका नयाँ गाडीमा दुई वटा ढोका रहने छन् । पछाडिबाट चढ्ने र अगाडिबाट यात्रुलाई ओरालिने छ । जसका लागि गाडीमै डिजिटल टिकेटिङ, आफ्नै सिटमा रहेको आलारामले आफू झर्ने ठाउँमा गाडीलाई रोक्न सकिने छ । लुम्बिनी मेट्रोसिटी प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले यात्रुको सुविधालाई मध्यनगर गर्दै स्थानीयदेखि प्रदेशका विभिन्न जिल्लामा गाडी छुटने गरी स्थानीय बस भित्र्याउन लागेको बताए ।

‘यात्रुलाई स्तरीय सेवा दिन्छौं भन्दा पनि लामो समयदेखि जरा गाडेर बसेको सिन्डिकेटले गर्दा सकिएन,’ अधिकारीले भने, ‘राज्यले तोकेको भाडा दरमा स्तरीय र भरपर्दो सेवा दिने गरी बस सञ्चालन गर्दैछौं ।’

उनले थपे, ‘भैरहवामा निर्माणाधीन विमानस्थल सम्पन्न भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने देखिन्छ । जसका लागि अहिले चल्दै आएको थोक्रा न बस्न मिल्ने न उभिन मिल्ने गाडीले हुँदैन । त्यसैले पर्यटक क्षेत्रको हव तथा प्रदेशको राजधानी बुटवल तथा यस आसपासको क्षेत्रमा ठूला र ठूला सार्वजनिक गाडी आवश्यक देखियो ।’

यस क्षेत्रमा अहिले साना २२ सिट क्षमताका माइक्रो बस चल्दै आएका छन् । जुन गाडीमा न उभिन मिल्छ । पनि घुडा ठोकिन्छ । जसले गर्दा यात्रुले सास्ती खेप्दै आएका छन् । यस क्षेत्रमा पश्चिम नेपाल बस व्यसायी संघ र सिद्धार्थ यायातात व्यवसायी समितिले सिन्डिकेट अन्त्य हुनु अगाडि आलोपालोमा गाडी चलाउँदै आएका थिए । पश्चिम नेपाल नेपालकै ठूलो यातायात व्यवसायी संघ हो । जुन समिति अहिले पनि २ हजार ४ सय गाडी आवद्ध छन् । समिति अझै पनि प्रालिमा गएको छैन । 

पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले बुटवल भित्रिने तयारीमा रहेका नयाँ गाडीहरू भरपर्दो बन्न जरूरी रहेको बताउँछन् ।  जिसीले भने, ‘यात्रु कम भए भनेर विचैमा गाडी रोकी यात्रुलाई अलपत्र पार्ने गरिँदै आएको देखिन्छ । यसको अन्त्यसँगै राति कम्तिमा १० बजेसम्म लोकल रूटमा चल्नुपर्छ । बुटवल–साँझ परे गाडी पाइँदैन । त्यसको पनि अन्त्य हुन जरूरी छ ।’

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले अहिले सञ्चालित साना केही विस्थापित गरेपछि स्थानीय रूटमा नयाँ गाडी भित्र्याउने सोचमा रहेको बताए । उनले भने, ‘अहिले ७० वटा पुराना गाडी हटाइयो । अझै हटाउने प्रक्रियामै छौं । अहिलेको अन्यौलताले गर्दा चाहेर पनि नयाँ गाडी तत्काल भित्राउन सकेका छैनौं । बुटवल भैरहवा ‘सिक्स लेन’को बाटो पूरा भएपछि ठूला गाडी ल्याउछौं ।’

बुटवल भैरहवाको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको छ । सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सुर्यकुमार सारूले यस क्षेत्रमा ठूला गाडीको आवश्यकता खड्किएकोले सोही आवश्यकतालाई लक्षित गरी ठूला गाडी भित्र्याउन लागेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्