०९ असार २०८३, मंगलबार

नेपाली मोडल वर्षा थापाको चुल्ठोले न्युयोर्कमा तहल्का मच्चाउँदै

नेपाली मोडल वर्षा थापाको चुल्ठोले न्युयोर्कमा तहल्का मच्चाउँदै

काठमाडौं — नेपाली मोडल वर्षा थापाले काठमाडौंबाट सात वर्षअघि न्युयोर्क आउँदा लामो यात्राका क्रममा घरको सम्झनाका लागि एउटा कुरा बोकेकी थिइन् । 

‘यो कुराले मलाई यहाँ रहेर अझै पनि म नेपालमै भएको अनुभव दिलाउँछ,’ बुशविकमा बस्ने २० वर्षीया थापा भन्छिन् ।

त्यो कुरा भनेको चुल्ठो बाट्ने रातो धागो हो र थापा त्यो धागो उनी कम्मरसम्म आउने आफ्नो कपालमा बाँध्ने गर्छिन् । 

‘मैले कपाल पाल्न थालेदेखि गर्न चाहेको पहिलो कुरा नै यही हो,’ उनी भन्छिन् । आफ्नो हजुरआमाबाट चुल्ठोमा धागो बाँध्ने तरिका सिकेको बताउने थापा नाइक कम्पनीको अभियान र पर्फर्मेन्समा आफ्नो समूह सीता भर्जिनको लागि देखापर्दा अमेरिकीहरूलाई धागो देखाउँछिन् । 

दुई चुल्ठी बाटेको उनको कपाल अत्यन्तै सुन्दर देखिन्छ र थापा यसो गर्दा आफूलाई कसैले रोक्न नसक्ने अनि तोड्न नसक्ने र अत्यन्तै बलियो तथा शक्तिशाली महिला भएको अनुभव गर्छिन् । 

तर थापाले नेपालबाट चुल्ठोको धागो मात्र ल्याएकी हैनन् । उनकी आमाले दिएका सौन्दर्य प्रयोगविधिले पनि उनलाई सेटमा लामो समय बिताउन सहयोग गर्छ । 

पीठो, बेसार र हरियो चियाको धूलोबाट बनेको फेस मास्कले उनलाई दिनभरि मेकअप कुर्सीमा बसेपछि छालालाई आराम दिन्छन् । अनि तीतेपाती मिसिएको अण्डाको प्रसाधनले उनको लामो कपाललाई चिल्लो बनाइराख्छ । 

केराको बोक्राबाट पनि उनी छालालाई सुन्दर बनाउँछिन् । ‘मेरी आमा केराको बोक्राको भित्री भाग जिउमा दल्न मन पराउनुहुन्छ । त्यसले छालालाई थप टाइट बनाउँछ । त्यसैले हप्ताको एक दिन म बोक्रा दल्छु,’ उनी भन्छिन् । 

तर उनले प्रयोग गर्ने सबभन्दा राम्रो कुरा शिलाजीत हो । उनी प्रत्येक बिहान पानीमा मिसाएर शिलाजीत खान्छिन् । 

‘यो शिलाजीत भेट्न एकदमै गाह्रो छ र महंगो पनि छ तर यसमा पैसा खर्च गर्नु मुनासिब छ,’ थापा रोगप्रतिरोधात्मक क्षमता भएको शिलाजीतको बखान गर्छिन् । उनी परिवारलाई भेट्न नेपाल गएपिच्छे शिलाजीत ल्याउँछिन् । 

यो अमृततुल्य शिलाजीत पिउने अनि कपाललाई कोमलतापूर्वक स्याहार्ने काम उनको दैनिकी बनिसकेको छ । 

‘नेपाल सानो देश हो र त्यहाँबाट आएर यहाँ मोडलिङ गर्नु म र मेरा परिवारका लागि निकै ठूलो कुरा हो । उहाँहरू सबै ममाथि गर्व गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘यसो गर्नु मेरा लागि सम्भव छ भने मैले चाहेको सबै कुरा हासिल गर्न पनि
सम्भव छ ।’

भोग पत्रिकामा प्रकाशित जो रफ्नरको रिपोर्ट
 

salt training

कमेन्ट गर्नुहोस्