
सुर्खेत – सुर्खेतस्थित भेरी नदीमा हालसम्म १४ जनाको ज्यान गएको छ ।
भेरीगंगा नगरपालिका–१ को बसेरी र वीरेन्द्रनगर नगरपालिका–९ थापाडेरा क्षेत्रमा पर्ने भेरी नदीले हालसम्म १४ जनाको ज्यान लिएको छ । यी दुवै स्थान जोड्ने भेरी नदीमा झोलुङ्गे पुल नहुँदा २०५४ सालमा डुंगा पल्टिएर ९ वर्षीया उर्मिला शर्मा, २०५५ सालमा २० वर्षीय ललिराम जैसीको निधन भएको थियो ।
नदी पार गर्ने क्रममा २०५६ सालमा ३६ वर्षीय नरेन्द्र शर्मा र २४ वर्षकी अमृता घर्तीको मृत्यु भएको थियो । २०५७ सालमा ४६ वर्षका कृपाराम जैसीले डुंगा दुर्घटनामा ज्यान गुमाए भने २०५८ सालमा १४ वर्षीया बालक दिनेश रावतले ज्यान गुमाउनुपरेको इतिहास छ ।
२०५९ सालमा २९ वर्षका रामबहादुर थापाले ज्यान गुमाए । त्यसको १२ वर्षपछि ४५ वर्षका भोजबहादुर राना र ४२ वर्षका हरिबहादुर कार्कीले डुंगा दुर्घटनामा परी ज्यान गयो । २०७२ सालमा ३८ वर्षका बलबहादुर रामजालीको ज्यान गयो भने २०७३ सालमा ११ वर्षका हरिबहादुर थापा र २१ वर्षका बैकुण्ठ थापाले भेरी नदीमा ज्यान गुमाउनु परेको थियो ।
२०७४ सालमा भेरी नदीले दुई जनाको ज्यान लिएको थियो । जसमा ३० वर्षीया कल्पना राना र १८ वर्षीया नरबहादुर बुढा मगर छन् । स्थानीयले बारम्बार पुल बनाउन माग गरेपनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा स्थानीयले ज्यान गुमाउनुपरेको भेरी गंगा नगरपालिका–१ का वडा सदस्य हरिबहादुर थापा बताउँछन् ।
‘हामीले बारम्बार केन्द्र सरकारसँग झोलुङ्गे पुल बनाइदिन १ सय ६३ जनाको हस्ताक्षरसहित स्थानीय पूर्वाधार विभाग पुल्चोकमा गत साउन २३ गते सिफारिस गरेका थियौं,’ उनले भने, ‘तर हामीले जहिल्यै आश्वासनबाहेक अरु केही पाउन सकेका छैनौं ।’
उनले स्थानीय हरे बुढा अध्यक्ष रहेको र दिपक बुढाले संयोजन गरेको उपभोक्ता समितिले विभिन्न सरोकारवाला निकायसँग पुल निर्माणका लागि माग गरेको छ । संयोजनकर्ता दिपक बुढाले बसेरी र वीरेन्द्रनगरको वडा नम्बर ९ स्थित थापाडेरा, बुलबुले, शक्तेकाँडा हुँदै बजार जोड्ने झोलुङ्गे पुल निर्माण हुन आवश्यक रहेको बताए ।
‘बसेराका स्थानीयको कृषि उत्पादन, पशुपंक्षीले बजार पाउन सकेन,’ उनले भने, ‘त्यति मात्रै होइन, भेरी बढेका बेला प्रायःजसो हरेक वर्ष कसै न कसैले ज्यान गुमाउनुपर्ने बाध्यता रहँदै आएको छ ।’ उनले भेरी पारिका ३० वटा गाउँलाई बजार आउन साह्रै समस्या भएको बताए ।
भेरीगंगाका आदी, बसेरा, सालघारी, बारुले घुमाउने, सिसौ, ढाप, सुनकाउली, मनिरामकाँडा लगायत गाउँका करीब २२ सय घरधुरीलाई झोलुङ्गे पुल नहुँदा भेरीमा आवतजावत गर्न कठिनाइ भएको उनले बताए । भेरी नदीको चौडाइ १ सय २० मिटर रहेको स्थानीयले बताएका छन् ।