०८ असार २०८३, सोमबार

वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक विमानस्थलमै संकलन गर्ने तयारी

वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक विमानस्थलमै संकलन गर्ने तयारी

काठमाडौं –सरकारले विदेशमा श्रम गरेर फर्किनेहरूको सम्पूर्ण तथ्याङ्क संकलन शुरू गर्दैछ । वैदेशिक रोजगारीका तथ्याङ्कहरूलाई एउटै प्रणालीमा राख्ने गरी सरकारले एकीकृत अनलाइन सिस्टम तयार पारेको छ ।

आगामी सोमवारबाट सोही सिस्टममार्फत् वैदेशिक रोजगारीबाट फर्किएकाहरूको तथ्याङ्क संकलन शुरू हुन लागेको हो ।

वैदेशिक रोजगारीबाट फर्किनेहरूको तथ्याङ्क राख्न सरकारले वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र राहदानी विभागसँग समन्वय गर्नेछ । 

अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले विदेशबाट फर्किएका नेपालीलाई सोधपुछ गरेर अनलाइन प्रणलीमार्फत् तथ्यांक संकलन गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए ।

विदेशबाट फर्किएकाहरूलाई विमानस्थलमै वैदेशिक रोजगारी गरेर फर्किएको हो वा होइन, यदि हो भने उनीहरूले गरेको काम, कार्य अवधि लगायतका विषयमा विभागका अधिकृतले सोधपुछ गर्नेछन् । उक्त तथ्यांकलाई सरकारले अनलाइन सिस्टममा राख्नेछ । 

हाल रोजगारीका लागि ४३ लाख नेपाली विदेशमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । तर हालसम्म कति नेपाली श्रम गरेर नेपाल फर्किए भन्ने तथ्यांक भने सरकारसँग छैन । विभागले विदेशमा श्रम गरिरहेका भनिएका ४३ लाख नेपाली कति श्रम गर्दैछन् र कति नेपाल फर्किए भन्ने जानकारी नै छैन ।

सरकारले शुरू गर्न लागेको एकीकृत अनलाइन प्रणालीबाट विदेशमा श्रम गर्ने नेपाली र फर्किनेहरूको आधिकारिक तथ्यांक आउने प्रवक्ता दाहालले बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युवा जनशक्तिलाई नेपालमा नै रोजगारीका अवसर सृजना गर्ने बताउँदै आएका छन् ।

सरकारले शुरू गर्न लागेको एकीकृत अनलाइन प्रणालीले श्रम गरेर फर्किने नेपालीले सिकेको सीप अनुसार नेपालमा रोजगारीको अवसर सिर्जना गर्न सहज हुने प्रवक्ता दाहालको भनाइ छ ।

‘अनलाइन प्रणालीबाट विदेशमा श्रम गरेर फर्किने युवाले सिकेको सीपको विषयमा पनि जानकारी प्राप्त हुन्छ, यसले हामीलाई युवालक्षित रोजगारीका कार्यक्रम बनाउन सहयोग पुग्छ,’ प्रवक्ता दाहालले भने, ‘उनीहरूले लिएर आएको सीप र पूँजीका आधारमा उपयुक्त नीति बनाउन र उनीहरूलाई नेपालमै रोजगारीको अवसर दिन सकिन्छ ।’

अनलाइन प्रणालीले वैदेशिक रोजगारीमा देखिएका विकृतिमा कमी आउने उनको विश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्