धनगढी–धनगढी–काठमाडौँ हवाई रुटको हवाई भाडा निरन्तर घट्न थालेको छ । गत असारसम्म सबैभन्दा कम पाँच हजार पाँच सय रुपियाँ रहेकोमा साउनदेखि कहिले चार हजार त कहिले तीन हजार तीन सय रुपियाँसम्ममा हवाई भाडा झरेको छ ।
बुद्ध एयर धनगढीका प्रमुख बुधराम माझीले वर्षात्को समय हुनु र धेरै जहाज कम्पनी खुल्नुले हवाई भाडा निरन्तर ओरालो लागेको बताए । बुद्धले तीन हजार, तीन हजार तीन सय, तीन हजार पाँच सय, चार हजार, चार हजार पाँच सय, पाँच हजार नौ सय, छ हजार नौ सय, सात हजार नौ सय, १० हजार एक सय, ११ हजार छ सय र तेह्र हजार एक सयसम्ममा टिकट बेच्दै आएको छ ।
श्री एयरलाइन्स धनगढीका सहायक स्टेसन म्यानेजर रणसिंह ठकुल्लाका अनुसार असारको तुलनामा साउन, भदौमा हवाई भाडा निरन्तर कम हुँदै आएको छ । श्री एयरलाइन्सले पनि तीन हजार पाँच सयदेखि १३ हजार एक सयसम्ममा हवाई टिकट बिक्री वितरण गरिरहेको छ ।
हवाई भाडा कम हुँदै गए पनि काठमाडौँबाट आउँदा होस् या जाँदा कहिलेकाहीँबाहेक हवाई कम्पनीहरूले सिट क्षमताअनुसार यात्रु भने पाइरहेका छैनन् । धनगढीमा बुद्ध र श्रीबाहेक नेपाल एयरलाइन्स पनि सञ्चालन छ ।
नेपाल एयरलाइन्सले कम्तीमा तीन हजार पाँच सय र बढीमा छ हजारसम्म हवाई टिकट बेच्ने गरेको छ । गाेरखापत्र दैनिकमा खबर छ।