
काठमाडौं — अमेरिकाकी टेनिस स्टार सेरेना विलियम्स यूएस ओपनको फाइनलमा पुगेकी छन् । उनले सेमीफाइनलमा लात्भियाकी अनास्तासिया सेवस्तोभालाई ६–३, ६–० ले हराइन् ।
उपाधिका लागि अब सेरेनाको भिडन्त जापानकी नाओमी ओसाकासँग हुनेछ ।
ओसाकाले सेमीफाइनलमा अमेरिकाकी म्याडिसन कीजलाई ६–२, ६–४ ले हराइन् । उनी यूएस ओपनको फाइनल पुग्ने पहिलो जापानी महिला खेलाडी बनिन् ।
सेरेनाले फाइनलमा विजय प्राप्त गरेका आमा बनेपछि यूएस ओपन जित्ने चौथो खेलाडी हुनेछिन् । यसअघि मार्गरेट कोर्ट, इवोन गूलागोङ र किम क्लस्टर्सले यस्तो उपलब्धि हासिल गरिसकेका छन् ।
सेरेनाले पछिल्लोपटक सन् २०१४ मा यूएस ओपन जितेकी थिइन् ।
जीतपछि उनले भनिन्, ‘यो जीत विशेष छ । अघिल्लो वर्ष यतिखेर म बच्चा जन्माउनका लागि अस्पतालमा थिएँ । अहिले कोर्टमा छु । म टेनिसलाई एकदमै मन पराउँछु त्यसैले मैले आफूलाई उभ्याएँ । अब म आफ्नो गति बढाउन र भली ठीक गर्नतिर ध्यान दिन्छु ।’
एजेन्सी