
पोखरा– कास्कीको बेगनास तालमा शनिबार डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको खोजी कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
राती अबेरसम्म खोजेको सुरक्षाकर्मीको टोलीले आज पनि बिहानैबाट खोजी कार्यलाई निरन्तरता दिएकाे छ । बेपत्ताको खोजीका लागि नेपाल प्रहरीका ३५, सशस्त्र प्रहरीका २६, नेपाली सेनाका १० जनासहित गोताखोरको टोली सहभागी छ ।
आफन्तको घरमा दर खाएर फर्किने क्रममा बेगनास तालमा शनिबार दिउँसो डुंगा डुब्दा उनीहरु बेपत्ता भएका हुन् । प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय रवि खनाल, १७ वर्षिय मनिषा बजगाईँ र ४ वर्षिय रन्जित गैह्रे तालमा वेपत्ता छन् ।
दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेँल (बजगाई) र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेँल (गैह्रे) को मृत्यु भएको थियो । डुंगा सयर गर्दा लाइफ ज्याकेट लाउनुपर्ने भए पनि उनीहरूले लगाएका थिएनन् ।