१३ असार २०८३, शनिबार

बालबालिकाको तौल र उँचाइमा ध्यान दिनुस्, नत्र बिग्रेला मिर्गौला

भदौ २५, २०७५
बालबालिकाको तौल र उँचाइमा ध्यान दिनुस्, नत्र बिग्रेला मिर्गौला

काठमाडौं–एकसाता अघि ललितपुरको सुमेरु अस्पतालमा दुबै मिर्गौलाले काम नगरेको एक बालक उपचारको लागि भर्ना भए । 

उमेर १३ वर्षको भएपनि उनको अवस्था हेर्दा कम उमेरका जस्ता देखिन्थे । उमेर अनुसार उनको उँचाइ र तौल निकै कम थियो । 

‘दुबै मिर्गौलाले काम गर्नै छाडेको अवस्थामा अस्पतालमा आइपुगेका थिए, हेर्दा नै उनको शरीरको अवस्था तौल र उँचाइ निकै कम थियो,’ बालकको उपचारमा संलग्न मिर्गौला तथा बालरोग विशेषज्ञ डा देवेन्द्र श्रेष्ठले भने, ‘समयममा स्वास्थ्य परीक्षण नगराउँदा दुबै मिर्गौला विग्रिसकेको रहेछ ।’

सास फेर्न गाह्रो हुने र शरीर सुन्निन थालेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए । अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा दुबै मिर्गौला फेल भइसकेको थाहा पाएपछि उनको परिवारले अहिले नियमित डायलाइसिस गराइरहेका छन् ।

यस्तै रुकुमका १४ वर्षीय गणेश मल्लको पनि दुबै मिर्गौला फेल भएको छ ।  उनी पहिला–पहिला कहिलेकाही वेहोस भइरहन्थे । शुरुमा गणेशको परिवारले कमजोरीका कारणले होला भन्ने सोचेर वेहोस हुने समस्यालाई त्यति धेरै वास्ता गरेनन् । तर पटक–पटक बेहोस हुन थालेपछि गणेशलाई उपचारका लागि नेपालगञ्ज लगियो । नेपालगञ्जमा स्वास्थ्य परीक्षण गर्दा दुबै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेको पत्ता लाग्यो । अहिले गणेशको मिर्गौला उपचार केन्द्र, बनस्थलीमा सातामा दुईपटक डायलाइसिस हुने गरेको छ ।

यी दुई जना त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय मिर्गौला फेल भएका बालबालिकाहरु बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

सरकारले मिर्गौला रोगीका लागि डायलाइसिस र प्रत्यारोपण सेवा निशूल्क गरेको छ । अस्पतालहरुमा मिर्गौला रोगको उपचार गराउने बिरामीको संख्या दैनिक बढ्दै गएको छ । 

पछिल्लो समय बालबालिकामा मिर्गौला फेल हुने समस्या बढ्न थालेको मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले बताए । बालबालिकाको मिर्गौला कस्तो अवस्थामा छ भनेर समय समयमा परीक्षण नगर्दा मिर्गौला फेल भइसकेपछि मात्रै उपचारमा आउने गरेको उनले बताए  ।

डा. काफ्लेले लोकान्तरसँग भने, ‘अहिले मिर्गौला फेल भएर उपचारमा आउने बालबालिका बढिरहेका छन्, मिर्गौला फेल भइसकेर सास फेर्न गाह्रो हुने र शरीर सुन्निन थालेपछि मात्रै बालबालिकाहरु उपचारको लागि आउने गरेको पाएका छौं ।’

एउटा मिर्गौलामा १० लाख नेफ्रोन हुन्छ । सामान्यतया स्वास्थ्य शिशू जन्मदा उसले १० लाख नेफ्रोन लिएर जन्मिएको हुनुपर्छ । तर गर्भअवस्थामा राम्रोसँग पोषण नपाएकी गर्भवतीबाट जन्मने शिशूमा १० लाख नेफ्रोन नहुन सक्छ ।

 नेफ्रोन कम भएका बालकालिकको मिर्गौला कमजोर हुने र उसमा मिर्गौला रोगको जोखिम उच्च रहने मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेले  बताए । 

बालबालिकाको उमेर अनुसार उचाइ र तौल नबढेमा मिर्गौला फेल हुने जोखिम उच्च रहने डा. काफ्लेको भनाइ छ । 

‘केही समय अघि हामी कहाँ डायलाइसिसका लागि आएका एकजना १३ वर्षीय बालक हेर्दा निकै कम उचाइ र तौलको हुनुहुन्थ्यो, १३ वर्षको बालक भनेर पत्याउनै नसकिने थियो,’ डा. काफ्लेले भने, ‘त्यसैले बालबालिकाको उमेर अनुसार उचाइ र तौल बढेको छैन भने मिर्गौला जाँच गराइहाल्नु पर्छ ।’

सामान्यतया पिसाबमा एलोमिन र रगतमा क्रियाटिनको परीक्षण गराउँदा मिर्गौलामा समस्या भए नभएको थाहा पाउन सकिन्छ । तर बालबालिकामा भने अल्ट्रासाउण्ड गरेर जाँच गराउनु उपयुक्त हुने डा. काफ्लेको भनाइ छ ।
मिर्गौलाको काम शरीरको रगत शुद्धीकरण गर्ने हो । हामीले खाने खानाबाट पोषण सँगै शरीरलाई आवश्यक नपर्ने टक्सिन पनि उत्पादन हुन्छ ।

मिर्गौलाले हाम्रो शरीरलाई आवश्यक नपर्ने पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । मिर्गौलामा खराबी आएमा यी कामहरु गर्न सक्दैन् ।  मिर्गौला फेल भएका बिरामीहरुमा क्याल्सियम कम हुने, रगतको कमी, फोस्फोरस तथा यसिडहरु बढ्ने गर्छ । जसको कारण मुटु कलेजो लगायत शरीरका अन्य भागलाई समेत असर पर्दै जान्छ । 

salt training

कमेन्ट गर्नुहोस्