
काठमाडौं– नेपाली कांग्रेसले तरुण दल रोल्पा नगर सभापति रोहित पुनका हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजिकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ ।
कांग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पनि आफ्नो दलका रोल्पा नगर समितिका सभापति पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ ।
हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ ।
यसैबीच, नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । पुनको आइतबार गोली हानी हत्या भएको थियो ।