
काठमाडौं — स्विडेनमा आइतवार भएको आमनिर्वाचनमा दुई प्रमुख राजनीतिक खेमाले लगभग उस्तै सीट ल्याएका छन् । उग्रपन्थी आप्रवासनविरोधी दलले भने पहिलेको भन्दा राम्रो परिणाम ल्याएको छ ।
मतगणना सकिँदासम्म सत्तारूढ वामपन्थी गठबन्धन विपक्षी दक्षिणपन्थी अलायन्सभन्दा अलिकति मात्र अगाडि छ । दुवैले मिलेर लगभग ४० प्रतिशत मत ल्याएका छन् ।
राष्ट्रवादी स्विडेन डेमोक्रेट्सले १८ प्रतिशत जति मत ल्याएका छन् जुन अघिल्लो चुनावमा ५ प्रतिशत बढी हो ।
गठबन्धन सरकार बनाउनका लागि निकै संघर्ष गर्नुपर्ने स्थिति देखिएको छ ।
स्विडेनमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ जसअन्तर्गत प्रत्येक दलले हरेक निर्वाचन क्षेत्रमा निश्चित संख्यामा सीटहरू ल्याउनुपर्छ जुन उसले ल्याएको भोट शेयरअनुकूल हुन्छ ।
दुई प्रमुख खेमाले आप्रवासनविरोधी स्विडेन डेमोक्रेट्ससँग मिलेर सरकार बनाउन अस्वीकार गरेका छन् । उक्त दलका नेताले सबै दलसँग वार्ताका लागि आफू खुला रहेको बताएका छन् ।
‘हामी संसदमा आफ्नो सीट संख्या बढाउनेछौं र देशमा आउँदा सातामा हुने घटनाक्रममा ठूलो प्रभाव पार्नेछौं,’ जिम्मी अकेसानले पार्टीको एक भेलामा बताए ।
अन्य युरोपेली मुलुकहरूमा पनि आप्रवासनविरोधी दलहरूप्रतिको समर्थन बढ्दो छ ।
बीबीसीबाट