११ असार २०८३, बिहीबार

‘हिम्मत भाकी छोरी’ : गुमे हात, गुमेन हिम्मत !

भदौ २६, २०७५
‘हिम्मत भाकी छोरी’ : गुमे हात, गुमेन हिम्मत !

बुटवल –

बगरमा फूल फुलाउँछु
वसन्तलाई यही बोलाउँछु
मेरो दुई पाउ छन् अजम्बरी 
म हिम्मत भा की छोरी
गर्नुपर्छ मेहनत हुन सक्छ असजिलो
असम्भव केही छैन, सबै सजिलो
भोकै रहुँ नखाउ दुई हात जोडी हात 
म त हिम्मत भा की छोरी 

यो गीत गाएकी हुन् दुवै हात करेन्ट लागेर गुमाएकी कपिलवस्तु वाणगंगा नगरपालिका–६ धमकौली घर भएकी रूपा रौतारले । रूपाका लागि २०६२ सालको भदौ महिला कहिल्यै नबिर्सने दिन बनेर आयो । भदौको महिना सिमसिम पानी परिरहेको थियो । रूपालाई उनकी आमा इन्द्रकलाले नजिकैको होराइजन स्कूलमा भर्ना गरेर घर आउँदै थिइन् ।

रूपाका बाबा विष्णुप्रसाद रौतार मलेसियामा काम गर्थे । उनका लागि चिठी लेखाउन रूपासँगै उनकी आमा इन्द्रकला छिमेकीको घरमा बसे । त्यहाँ पुगेसँगै चार वर्षीया रूपा निदाइन् । इन्द्रकलाले चिठी लेखाउँदै गर्दा निदाएकी रूपा एक्कासी उठेर घरको छतमा पुगिछिन् । उनले नजिकै रहेको बिजुलीको तारमा छोइछिन् । 

तार छोएपछि ठूलो आवाज आयो । छोरी खै भनेर हेर्दा साथमा छोरी छैन । त्यसपछि माथि छतमा जाँदा त रुपा करेन्ट लागेर खसिछन् । करेन्टले उनका दुवै हात जलेर आगो बालेर छोडिएका ठुटाजस्तै भए । माथिबाट खसेपछि उनको शरीरमा पनि चोट लाग्यो । 

उनलाई तत्काल बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल ल्याइयो । अञ्चल अस्पतालले बुटवलमा उपचार सम्भव नदेखेपछि काठमाडौं टिचिङ अस्पताल रिफर गर्यो । टिचिङले फेरि कान्ति बाल अस्पतालमा पठायो, घटनाको जानकारी गराउँदै रूपाकी आमा इन्द्रकलाले बताउँदै गइन् ।

कान्ति अस्पतालमा १ हप्ता उपचार भएपछि डाक्टरले उनका दुवै हाट काटेर फालिदिए । इन्द्रकलाले भनिन्, ‘चिकित्सकले हामीलाई एक पटक पनि नसोधि दुवै हात काटेर फालिदिएछन । हात काटेर नफाले क्यान्सरको सम्भावना हुने भएपछि काटेर फालेको उत्तर दिए ।’ झण्डै ११ महिना काठमाडौंमा बसेर उपचार गराएपछि रूपासहित उनकी आमा घर फर्किए । 

बीच–बीचमा ड्रेसिङ गर्न भने उनी जान्थिन् । विद्युत्को लापरवाहीले रूपाका दुवै हात गुमेको विद्युत्मा निवेदन दिएपछि जम्मा उनलाई ९४ हजार रूपैयाँ विद्युत् प्राधिकरणले दियो । उनको उपचारमा झण्डै ४ लाख रूपैयाँ खर्च भयो । उनका बाबाले कमाएको सबै पैसा पनि रूपाकै उपचारमा सकियो । रूपालाई आमाले विभिन्न विद्यालयमा भर्ना गर्न लगिन्, कसैले पनि भर्ना गर्न मानेनन् । 

त्यसपछि बुटवलकी विष्णु श्रेष्ठको नेतृत्वमा बुटवल ल्याएर बुटवलको दीप बोर्डिङ हाई स्कूलमा नर्सरीमा भर्ना गरियो । अहिले उनी ८ कक्षामा दीप बोर्डिङले निःशुल्क छात्रवृत्तिमा पढाएको छ । उनलाई आवासबाट ल्याउन विद्यालयको गाडी आउँछ । साथीहरूसँगै प्राथना गरेपछि उनी ८ कक्षाको कोठाभित्र छिर्छिन् । देव्रे साइडमा उनलाई छुट्टै बस्ने स्थान राखिएको छ । साथीसँगै बस्छिन्, पढ्छिन्, खाजा खान्छिन्, अनि विद्यालय सकेपछि पुनः विद्यालयकै गाडीमा घर फर्किन्छिन् रूपा । विद्यालय समयपछि उनले वागेश्वरी संगीतालयमा संगीत पनि सिक्दै आएकी छिन् । 

विगत ८ वर्षको संगीत सिकाइसँगै उनले अहिले आएर ‘हिम्मत भाकी छोरी’ गीत र म्यूजिक भिडियो बजारमा ल्याउन सफल भइन् । ‘मेरो भाग्यमा यस्तै लेखेको रहेछ । जे नहुनु दुर्घटना भइहाल्यो,’ रूपा भन्छिन्, ‘अब पछुताएर केही हुने छैन । मलाई कुनै ग्लानी पनि छैन ।’ रूपाले खुट्टाले नै खान्छिन् । खुट्टाले नैं लेख्छिन् । आफै नुहाउँछिन् । आफ्नो कपडा आफैं फेर्न सक्छिन् । मोबाइल चलाउँछिन् । उनको अक्षरहरू पनि राम्रा छन् । रूपा आज कुनै सवलाङ्गीभन्दा कमी छैनन् ।

संघर्षले मानिसलाई सफल मात्रै होइन, सक्षम पनि बनाउँछ । परिश्रम र संघर्ष जीवनमा कतिपय नसोचिएका र आशा मारिएका कुराहरू पनि सम्भव तुल्याउन भन्ने कुरा रूपाबाट सिक्न सकिन्छ । उनको उक्त भिडियो गीत बनाउन र छायांकन गर्न लाग्ने सम्पूर्ण खर्च काठमाडौंका उद्योगी विकास अग्रवालले गरिदिएका छन् । 

उनले आफू संगीतबाटै अगाडि बढ्ने बताइन् । उनी अहिलेसम्म कुनै स्टेज कार्यक्रममा पनि गएकी छैनन् । उनको परिवारले रूपाको उच्च शिक्षाको व्यवस्था गरिदिन माग गरेका छन् । १२ कक्षासम्म दीप बोर्डिङले निःशुल्क छात्रवृत्तिमा पढाइदिए पनि त्यसपछिको शिक्षाका लागि आफूहरूलाई सहयोग आवश्यक रहेको आमा इन्द्रकला बताउँछिन् ।  

वागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेस सेन्चुरीले रूपाको संगीतप्रति विशेष रूचि रहेकोले गीतकै माध्यबाट उनले धेरै गर्न सक्ने बताए । ‘रूपाको स्वर राम्रो छ । लगाव पनि धेरै छ । गीतबाटै उनी अगाडि बढ्न सक्छिन्,’ उनले थपे, ‘खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन् । यी सब गर्न उनका दुवै हात छैनन् त के भो ? सयौं हातझैं सबैको साथ छ । प्रमाण हो, उनको जादुगरीझैं लाग्ने सुमधुर स्वर छ ।’

हाल रूपाको परिवार बुटवल–११ देवीनगरमा बस्दै आएको छ । रूपाका बुवा सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा सुरक्षा गार्डको रूपमा कार्यरत छन् । दीप बोर्डिङका प्रधानाध्यापक टीकाराम न्यौपानेले रूपाको पढाइ राम्रो रहेको बताए । 

‘शुरूमा रूपालाई हामी भर्ना लिन आनाकानी गर्दा अहिले मलाई आत्मग्लानी भएको छ । तर, रूपा अहिले विद्यालयकी गहना मात्र नभएर देशकै गहनाको रूपमा निस्किँदैछिन् । विद्यालय उनलाई पूर्ण सहयोग गर्छ,’ प्रधानाध्यापक न्यौपानेले भने । रूपालाई खर्च जुटाएर प्लास्टिकको कृत्रिम हात राख्ने इच्छा छ । उनले ल्याएका गीत यूट्युवमा पनि हेर्न सकिन्छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्