
काठमाडौं — आशाराम, राम रहीम जस्ता बाबाहरू महिलाको यौन शोषण गरेको अभियोगमा कारावास सजाय भोगिरहेका छन् । अहिले अर्का एक बाबामाथि बलात्कारको आरोप लागेको छ ।
भारतको दक्षिण दिल्लीमा आश्रम चलाइरहेका स्वयंभू बाबाले आफूलाई बलात्कार गरेको र आफ्नी नाबालिका छोरीसँग अप्राकृतिक यौन सम्पर्क गरेको आरोप एक महिलाले लगाएकी छन् । प्रहरीले बाबाविरुद्ध बलात्कार र बालबालिका विरुद्धको अपराध अन्तर्गत मुद्दा दर्ता गरेको छ ।
आरोपित ज्योतिषी आशु भाई गुरुजीले आफूलाई स्वयम्भू ईश्वर घोषणा गरेका छन् । प्रहरीका अनुसार, बाबाको सेक्टर ७ रोहिणीमा आश्रम छ ।
पीडित महिलाले छोरीको गोडाको उपचारका लागि रोहिणी आश्रम गएको र सन् २०१३ देखि २०१७ सम्म बाबा, उनका छोराहरू र साथीहरूले आफ्नो बलात्कार गरेको बताएकी छन् । बाबाले छोरीलाई पनि बलात्कार गर्ने कोशिश गर्दा
आफूले विरोध गरेको महिला बताउँछिन् ।
विरोध गरेपछि बाबाले आफूलाई आश्रमबाट निकालेको उनको भनाइ छ । हौज खास प्रहरी थानामा उजुरी दर्ता गराउन जाँदा प्रहरीले नलिएको उनको दुखेसो छ । उनले महिला आयोग जाने बताएपछि बल्ल सेप्टेम्बर ८ मा एफआईआर
दर्ता गरियो ।
आशु बाबाले टेलिभिजन च्यानलहरूमा सबै प्रकारका समस्या समाधान गर्ने दाबी गर्ने गरेका छन् । आशुले भेट्न खोज्ने मानिससँग मोटो रकम असुल्ने गरेका छन् । उनले रोगनिवारणका लागि टन्न पैसा लिने गरेको र करोडौं कमाएको
खुलेको छ ।
एजेन्सी