
काठमाडौं– ठेक्कापट्टाको काम गर्ने व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएलका सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठ पक्राउ परेका छन् ।
सिन्धुलीको कमलामाइ–५ घर भएका ३६ वर्षीय श्रेष्ठ काठमाडौंको गौशालाबाट पक्राउ परेका हुन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
श्रेष्ठविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगमा ५, कुटपिट गरेको अभियोगमा १ र अपहरण तथा शरीर बन्धक अभियोगमा १ गरी ७ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले पछिल्लो समय ठेक्कापट्टाको काम गर्ने ४० वर्षीय राम बहादुर कटुवाललाई हतियार देखाएर ज्यान मार्ने धम्की दिएको प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीउपर थप अनुसन्धान गर्न नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।