
काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महीनाअघि देखि दर खाने, गरगहना एवं फेशन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए । तीजको अवसरमा देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यसैबीचपशुपतिमा तीजको अवसरमा आज ब्रतालुको भीड लागेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरितालिका तीजको अवसरमा बुधबार महिलालाई सहजरूपमा पशुपति मन्दिर दर्शन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई सहज बनाएको छ । पशुपति बिहान ३ बजेदेखिनै खुलेको छ भने मन्दीरका चार वटै ढोका खुल्ला गरिएको छ ।
महाशाखाले पशुपति क्षेत्रभित्र सहज दर्शन गर्नका लागि तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिल जान रोक लगाएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करलाई पनि रोक लगाएको हो ।
यसैगरी पशुपति दर्शनका लागि जाने तीर्थयात्रीलाई तिलगङ्गा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय, भारतीय दर्शनयात्रीलाई अमालकोट चौर र स्वदेशी तीर्थयात्रीलाई सिफलचौरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकरी दिए ।
यस्तै बानेश्वर तीनकुने भएर गौशाला जाने सवारीसाधन सोही रुटबाट फिर्ता हुने, रातोपुल गौशाला हुँदै बौद्ध चल्नेलाई जमल, नारायणगोपालचोक चावहिल हुँदै जाने, नयाँ बसपार्क चावहिल हुँदै जानेलाई सोही रुट फिर्ताको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसैगरी रत्नापार्क आउनेलाई पनि सोही रुट जाने व्यवस्था मिलाइएको छ । तीजको अवसरमा राष्ट्रपतिसहितका भीआईपीहरुले शुभकामना दिएका छन् ।
निर्मला पन्त हत्या प्रकरण
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरण नयाँ मोडमा पुगेको छ । तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्ट सादा तारेखमा रिहा भएसँगै सो प्रकरण नयाँ मोडमा पुगेको विश्लेषण हुन थालेको छ ।
विष्ट साधारण तारेखमा रिहा भएसँगै अब वास्तविक हत्यारा पत्ता लगाउन प्रहरी नेतृत्वमाथि दबाब बढ्ने देखिएको छ ।
यस्तै घटनामा मुछिएका दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई पनि सादा तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मलाकी साथी हुन् ।
तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक दिलिपसिंह विष्टलाई फसाउन खोजेको भनेर कञ्चनपुरमा आन्दोलन भएको थियो । घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको भनेर सरकारी वकिल कार्यालय कञ्चनपुरबाट विष्टलाई रिहा गरिएको हो ।
नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको थियो भने केही प्रदर्शनकारी घाइते भएका थिए ।
एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेका छन् । एसपी विष्टलाई सरकारले निलम्बन समेत गरेको छ ।
उच्चस्तरीय छानबिन समितिको म्याद थपिएपछि अनुसन्धान लम्बिँदा वास्तविक हत्याराले उन्मुक्ति पाउने खतरा रहेको भन्दै समितिका सदस्य उपसचिव विरेन्द्र केसीले सोमवार समितिबाट राजीनामा दिएका थिए ।
डीआईजीको एआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीका ३ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत बढुवा सिफारिस भएका हुन् ।
कार्की १ नम्बर, राई २ र बस्नेत ३ नम्बरमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको मंगलबार बसेको बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम को उपनियम (४) को प्रावधान अनुसार उनीहरुकमो बढुवा सिफारिस गरेको हो । प्रहरीमा लामो समयदेखि एआईजीको दरबन्दी रिक्त रहेको थियो ।
नागढुंगामा सुरुङ मार्ग निर्माण प्रक्रिया
राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ ।
गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ ।
यसअघि गत महिना बोलपत्र आह्वान गरिसकेको र आगामी एक महिनाभित्र ठेक्का सम्झौता हुने विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए ।
जापानी सहयोग नियोग (जाईका)को सहयोगमा निर्माण हुने सुरुङ मार्ग २ दशमलव ४५ किलोमिटर लम्बाइको हुनेछ ।
धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङ मार्ग निर्माण भएपछि काठमाडौं भित्रिन र काठमाडौंबाट बाहिरिन निकै सहज हुनेछ ।
सुरुङ मार्गलाई सिधै सीतापाइलासँग जोड्न लिंक रोड निर्माण हुनेछ । नागढुंगा सुरुङ मार्ग आयोजनाका लागि जाईकाले १७ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने सम्झौता भइसकेको छ ।
यो सडकका लागि नेपालमा निर्माण हुन लागेको पहिलो सुरुङ हो ।
दुर्लभ सर्प कालीनाग भएको पुष्टि
पर्वतमा पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ ।
कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो ।
संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको छ । उक्त सर्पलाई पोखराबाट आएका तीन प्राविधिक कातिला, रोशन गिरी र रवीन्द्र विश्वकर्मा तथा डिभिजन वन कार्यालय पर्वतबाट खटिनुभएका चूडामणि बराल, गोविन्द पौडेल र ईश्वर पुरीले कालीनाग भएको पुष्टि गरेका थिए ।
जिल्लामै पहिलो पटक यति ठूलो सर्प अहिलेसम्म देखिएको थिएन ।
आगलागी र घाइते
काठमाडौंको ज्याठामा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सात जना घाइते भएका छन् ।
मंगलबार बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो ।
ज्याठाका स्थानीयवासी सुमन स्थापितको भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर थिए । तीमध्ये आगलागीका क्रममा २५ वटा सिलिण्डर पड्किएका थिए ।
सो घटनाका घाइतेमध्ये सुमन स्थापितसहित अन्य चारजनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् ।
नेकपाको सचिवालय बैठक आज
प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कीर्ते गर्ने अधिकृतसहित नौ पक्राउ
प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई मंगलबार पक्राउ गरेको छ ।
जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिए । त्यस्तै प्रहरीले जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई समेत पक्राउ गरेको छ ।
जनकपुरमा आज सार्वजनिक बिदा
जनकपुरधाम उपमहानगरपालिकाले तीज र चौरचन पर्वका अवसरमा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।
उपमहानगरपालिका कार्यालयद्वारा जारी गरिएको सूचनामा उपमहानगरपालिका क्षेत्रभित्र भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
डा भट्टराई अमेरिका प्रस्थान
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई करीब एक महीना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक व्यक्तित्व, नीति निर्माता, चिन्तक, प्राध्यापक, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखक, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्व र प्रवासी नेपाली तथा दक्षिण एशियाली मुलुकका प्रवासीसँग पनि अन्तरक्रिया गर्ने बताइएको छ ।
सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।
आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन् ।
प्रतियोगिता आगामी असोज १९ देखि कात्तिक ४ गतेसम्म युनाइटेड अरब इमिरेट्स (युएई)मा हुनेछ ।
राष्ट्रको आवश्यकता विकास र समृद्धि : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताएका छन् ।
काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहउनले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पु¥याउने विश्वास व्यक्त गरे ।
यसैबीच सोही कार्यक्रमपश्चात पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री थापाले मन्त्री फेरबदल हुने भन्ने कुरा हल्ला मात्रै भएको बताए ।
न्यायाधीश जोशी सर्वोच्च फर्किए
प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबारबाट सर्वोच्च अदालतमा काममा फर्किए ।
जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो । सुनुवाइपछि जोशी बिदामा बसेका थिए यद्यपी मंगलबार उनको नाममा मुद्दाको पेशी भने तोकिएन ।
डेढ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू
सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिकोको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिइयो ।
प्रत्येक बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउने जानकारी दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम रोजगारको प्रत्याभूत गर्न नसकेको खण्डमा निर्वाह भत्ता उपलब्ध गराइने बताए ।
अर्थमन्त्रीको भनाई
अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।
नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिए ।
यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।