काठमाडौं — पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ, छोरी मरियम र ज्वाईं मुहम्मद सफदरलाई १२ घन्टाको परोलमा कारागारमुक्त गरिएको छ ।
नवाजकी पत्नी कुलसुम नवाजको अन्तिम संस्कारमा भाग लिनका लागि तीनैजनालाई रावलपिण्डी जेलबाट मुक्त गरिएको हो । बुधवार बिहान नवाज शरीफ आफ्नी छोरी र ज्वाईंका साथ अदीला जेलबाट लाहौर पुगे ।
लामो समयसम्म क्यान्सरपीडित रहेकी शरीफकी पत्नी कुलसुमको मंगलवार निधन भएको थियो ।
कुलसुमको शव लन्डनबाट लाहौर ल्याइएको छ र उनको अन्तिम संस्कार प्रक्रिया शरीफ परिवारको लाहौरस्थित निवासमा हुनेछ । शरीफ, उनकी छोरी र ज्वाईं बिहान साढे ३ बजे लाहौर पुगे ।
पाकिस्तान मुस्लिम लीग–नवाजका प्रवक्ता मरियम औरंगजेबले नवाजका भाइ शाहबाज शरीफले पञ्जाब सरकारसमक्ष निवेदन दर्ता गरेर पाँच दिनका लागि परोल दिन माग गरेको थियो । पञ्जाब सरकारले यसलाई मानेन र तीनजनालाई
जम्मा १२ घन्टाका लागि परोलमा रिहा गरेको हो । परोलको अवधिलाई बढाउन पनि सकिने प्रवक्ता मरियमको भनाइ छ । कुलसुमलाई शुक्रवार दफनाइनेछ ।
पाकिस्तानको सर्वोच्च अदालतले पतिलाई अयोग्य ठहर्याएपछि कुलसुम नवाज लाहौरको एनए–१२० निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन् । नवाज शरीफ सन् १९९९ मा सैन्य कूपछि निर्वासनमा पुग्दा कुलसुमले मुस्लिम लीग–नवाज
सम्हालेकी थिइन् । उनी सन् १९९९ देखि २००० सम्म यसको अध्यक्ष थिइन् ।
कुलसुमको जन्म सन् १९५० मा एक कश्मीरी परिवारमा भएको थियो ।
एजेन्सी