
काठमाडौं – कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाको उच्चस्तरीय छानबिन समितिको म्याद थपेपछि असन्तुष्ट बन्दै समितिबाट राजीनामा दिएका उपसचिव विरेन्द्र केसी समितिमा फर्किएका छन् ।
गृह मन्त्रालयमा बुधवार पत्रकार सम्मेलन गर्दै केसीले गृह मन्त्रालय, उच्चस्तरीय छानबिन समिति र आफ्नो उद्देश्य निर्मला पन्तका हत्यारा पत्ता लगाउनु रहेको बताउँदै समितिमै रहेर जिम्मेवारीबोध गर्दा हत्यारा पत्ता लाग्ने भएकाले समितिमा फर्किएको बताएका छन् । समितिमा फर्किनुअघि केसीले गृह मन्त्रालय र उच्चस्तरीय छानबिन समितिमा छलफल गरेको बताएका छन् ।
तोकिएको १५ दिने म्याद सकिएपछि सरकारले समितिको म्याद थप १५ दिन बढाएको थियो । समितिको म्याद थपिँदा हत्याराले उन्मुक्ति पाउन सक्ने बताउँदै केसीले समितिबाट राजीनामा दिएका थिए ।
