२१ असार २०८३, आइतबार

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा
फाइल फोटो

चितवन –नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मंगलवार बिहान १ः३० बजे पहिरो खसेको थियो । 

दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत ठाउँमा पनि पहिरो खसेको थियो । ती ठाउँको पहिरो मंगलवार नै सफा गरिएको थियो । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार लामो समयसम्म सवारी रोकिएपछि एकतर्फी सञ्चालन गरेर सवारी साधन कटाइएको थियो । खनालका अनुसार चार किलोमा एक सय मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो । सो ठाउँमा एक सय मिटर सडक पहिरोले ढाकेको थियो । 

एकतर्फी सवारी सञ्चालनमा आएपछि मंगलवार रातभर पालैपालो सवारी कटाइएको थियो । आज बिहान केहीबेर सवारी रोकेर बाँकी पहिरो पन्छाएसँगै सवारी दुईतर्फी सञ्चालनमा आएको हो ।

कमेन्ट गर्नुहोस्