
काठमाडौँ-नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जानुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गर्नुभएको थियो । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले फूल एवं प्रसाद दिनुभएको थियो ।
तीजका अवसरमा पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरेर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको कोषका सदस्यसचिव डा ढकालले जानकारी दिनुभयो । बेलुकी ८ बजेसम्म भक्तजन लाममा बसेर पशुपतिनाथको दर्शन गरेका थिए ।