काठमाडौं — चीनको हुनान प्रान्तको हेङडङ काउन्टीमा बिहीवार एक व्यक्तिले भीडभाडयुक्त क्षेत्रमा कार जोत्दा नौजनाको मृत्यु भएको छ अनि ४६ जना घाइते भएका छन् ।
प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको छ । यो घटनालाई आतंकवादी गतिविधिका रूपमा हेरिएको र्छैन ।
आरोपितको नाम याङ जेनयुन बताइएको छ र उनी ५४ वर्षका हुन् । उनी त्यहीँकै स्थानी बासिन्दा हुन् । यसअघि पनि उनले अनेकौं मुद्दामा कारावास सजाय भोगिसकेका छन् ।
विगत केही वर्षयता चीनमा हिंस्रक घटनाहरू बढेका छन् । मानिसहरूको व्यक्तिगत कारण वा समाजप्रतिको रोषका कारण हिंसा हुने गरेका छन् ।
सन् २०१३ मा बेइजिङमा फोरबिडन सिटीमा भीडभाडयुक्त क्षेत्रमा एउटा कार घुसाइँदा कारमा बसेका तीन मानिस सहित आठजनाको मृत्यु भएको थियो । प्रहरीले यस घटनामा मुसलमान पृथकतावादीको हात रहेको बताएको थियो ।
एजेन्सी