काठमाडौं— कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको अनुसन्धान, रोल्पामा तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या र पत्रकार पक्राउको बिषयमा प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा विभागी मन्त्रीले जवाफ दिने प्रतिबद्धता जनाएपछि संसदको बैठक सुचारु भएको छ ।
प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शुरुमा सभामुखसंग समय लिएर कानून मन्त्री भानुभक्त ढकालले अभियुक्तलाई उचित समयमा कडा भन्दा कडा कारवाही गर्ने प्रतिबद्धता जनाए । यी बिषयसंग सम्बन्धीत तथ्यगत विषय संसदको भोलि बस्ने बैठकमा विभागीय मन्त्रीले जवाफ दिने उनले बताए ।
यसअघि कञ्चनपुर घटनाको विषयलाई लिएर प्रधामनन्त्री र सरकारको तर्फबाट सदनमा जवाफ मागगर्दै कांग्रेसले विरोध जनाएपछि संसदको पहिलो बैठक १० मिनेटका लागि स्थगित भएको थियो ।
त्यसअघि प्रतिनिधि सभाको बिहीवार बसेको पहिलो बैठकको शुरुमै सभामुखसंग समय लिएर नेपाली कांग्रेसका सांसद दीलेन्द्र बडूले कञ्चनपुर घटना झनपछि झन रहस्यमय बन्दै गएको भन्दै सरकारको जवाफ माग गरेका थिए ।
‘कञ्चनपुर घटना नाटकीय रुपमा बढी जटिल भइरहेको छ, अनुसन्धान मार्फत बास्तविक दोषी पत्ता लगाउने भन्दापनि वास्तविकता ढाकछोपमा लागेको छ’ बडूले भने ।
छानविन समितिका विरेन्द्र केसीले न्याय पाउने सम्भावना देखिन भनेका छन् र शक्तिशाली अपराधीबाट ज्यान खतरामा रहेको भन्नु गम्भीर बिषय भएको उनले बताए ।
‘आखिर यो अबस्था किन आयो, शक्तिशाली भनिएका अपराधी को हुन् ? नेपाल सरकारका उपसचिवले जीवन रक्षाका लागि नागरिक समाज र राष्टसंघमा अपील गर्नुपर्ने अबस्था आउदा राज्य संयन्त्र सरकार या अरु शक्तिले चलाइरहेको छ ?’बडूले प्रश्न गरे ।