
काठमाडौं – एनआईसी एसिया बैंकले बिक्री खुला गरेको ऋणपत्रमा उत्साहजनक सहभागिता देखिएको छ ।
बैंकले भदौ २१ गते बिक्री खुला गरेको १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ‘११% एनआईसी एशिया ऋणपत्र २०८२÷८३’ मा व्यक्तिगत तथा संस्थागत लगानीकर्ताबाट उत्साहजनक सहभागिता भई पूर्णरुपमा आवेदन प्राप्त भइसकेको जनाइएको छ ।
७ वर्षको अवधिमा परिपक्व हुने ऋणपत्रको व्याजदर ११% रहेको छ । प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब ८३ करोडमध्ये १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री खुला गरिएकोमा भदौ २७ गतेसम्म करीब २ अर्ब १६ करोड (१४८%) को आवेदन प्राप्त भएको, जुन माग गरिएकोभन्दा ४८ प्रतिशतले बढी रहेको र ३६ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएकोमा भदौ २७ गतेसम्म करीब ४४ करोड रुपैयाँ (१२० प्रतिशत) आवेदन प्राप्त भएको, जुन माग गरिएकोभन्दा २० प्रतिशतले बढी रहेको र दुवैतर्फ गरी करीब २ अर्ब ६० करोड (१४२% माग गरिएकोभन्दा ४२ प्रतिशतले बढी) को उत्साहजनक आवेदन प्राप्त गरिएको छ ।
केयर रेटिङ नेपालबाट ऋण पत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘केयर–एनपी ए’को ग्रेडिङ तथा बैंकलाई आईसीआरए नेपाल लिमिटेडले ए माइनस, आईसीआरएएनपी इस्योर रेटिङभि ए माइनस, केयर रेटिङ नेपालले केयर एनपीए आईएस ग्रेडिङ प्रदान गरेको छ । जारी गरिएको ऋणपत्र द्वितीय बजारमा खरीद बिक्रीको लागि सूचिकृत गरिने छ ।
नेपालको पूँजी बजारमा हाल बैकिङ क्षेत्र, बीमा क्षेत्र, जलविद्युत् क्षेत्र तथा केही उत्पादनशील क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएपनि ऋणपत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको ऋणपत्रले थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
दीर्घकालीन ऋणपत्रले व्याजदरको उतारचढाव सम्बन्धी हाल विद्यमान अवस्था र बैंकिङ क्षेत्रमा विकराल समस्याको रुपमा रहेको एसिट लाइबिलिटी मेच्यूरिटी मिसम्याचलाई केही हदसम्म सम्बोधन गर्ने र दीर्घकालीन डेबिट इन्स्ट्रोमेन्टको अभावमा बैंक तथा वित्तीय संस्थाले हाल भोगिरहेको छोटो अवधिको निक्षेपबाट लामो अवधिको कर्जा प्रदान गर्नुपर्दा उत्पन्न भएको एसिट लाइबिलिटीको स्ट्रक्चरल मिसम्याचको अवस्थामा केही हदसम्म भएपनि राहत दिने र सोबाट दीर्घकालीन रुपमा बैंक तथा वित्तीय संस्थाको पूँजीको अवस्था अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ ।
‘उक्त तथ्यहरूलाइ मध्यनजर गर्दै बैंकले आगामी दिनहरूमा अझ थप आकर्षक प्रतिफल रहने गरी विभिन्न भुक्तानी अवधिका ऋणपत्रहरू सम्पूर्ण लगानीकर्ताहरूमाझ लिएर आउने प्रतिवद्वता पनि व्यक्त गर्न चाहन्छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले बैंकप्रति देखाएको असीम विश्वास ऋणपत्र बिक्री कार्यबाट थप उजागर भएको बैंकले जनाएको छ । बैंकका अनुसार सबल र स्वस्थ बैंकको रुपमा बैंकको ख्याति तथा सम्मान अझ थप प्रस्फुटित हुन गएको छ ।