
काठमाडौं - ‘सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार’ नारासाथ राष्ट्रिय बाल दिवस २०७५ आज मनाइँदै छ । भदौ २९ गते हरेक वर्ष नेपालले बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागि वाल दिवस मनाउने गर्दछ ।
दिवसका अवसरमा केन्द्रीय बालकल्याण समितिले राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछ । बालकल्याण समितिले जिल्ला जिल्लामा पनि कार्यक्रम गर्दैछन् । लामो समयान्तरको संस्थागत प्रयासपश्चात् सन् १९८९ को नोभेम्बर २० तारेखका दिन विधिवत् रुपमा संयुक्त राष्ट्रसङ्घले राष्ट्रसङ्घीय महासभाबाट बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भई पछिल्लो वर्ष सन् १९९० सेप्टेम्बरदेखि बाल अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनमा आयो ।
नेपालले १४ सेप्टेम्बर, १९९० का दिन यस महासन्धिलाई अनुमोदन गरी महासन्धि प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्यो र महासन्धिको राज्य पक्ष बन्यो । यस विशेष दिनको सम्झनामा नेपालमा पनि प्रत्येक वर्ष राष्ट्रिय बाल दिवस बालअधिकारलाई अन्तरमनबाट नै अनुभूति दिलाउने खालका कार्यक्रम र बालबालिकाप्रति विशेष सम्मान गरी मनाइँदै आएको छ ।
नेपालमा दुई हजार ६८ सालको जनगणना अनुसार १८ वर्षका ४१.८५ प्रतिशत, १६ वर्षका ३७.३७ र १४ वर्ष मुनिका ३२.३५ प्रतिशत बालबालिका छन् । २०७४ सालको शैक्षिक सत्रमा प्राथमिक तहको खुद भर्नादर ९७.२ प्रतिशत र आधारभूत तह अर्थात कक्षा १ देखि ८ सम्म ९२.३ प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् ।
माध्यमिक तह अर्थात कक्षा ९ देखि १० सम्म ६५ प्रतिशत ,उच्च माध्यमिक तह अर्थात ११ देखि १२ कक्षा सम्म २२.० र माध्यमिक तह अर्थात ९ देखि १२ सम्म ४३.९ र कक्षा ९ देखि १२ सम्म कूल भर्नादर ६० प्रतिशत रहेको जनाएको छ ।